वैदेशिक रोजगार तथा अन्य प्रयोजनका लागि लिइएका ऋण जाली तमसुकमा आधारित भएका कारण हजारौँ ऋणीहरूले अत्यन्तै उच्च ब्याजदर सामना गरिरहेका छन्
सरकारले शोषणकारी अभ्यासहरू अपराध भएको घोषणा गरेपनि पीडित ऋणीको सट्टा प्रहरी तथा अदालतले प्राय: पीडक साहुमहाजनकै पक्ष लिने गर्दछन्
खाडी क्षेत्रमा जारी युद्धका कारण नेपाली मजदुरहरूको रोजगार गुमेकाले थुप्रै ऋणीहरूले सामना गरिरहेको संकट झनै गहिरिएको छ ।
(टोकियो) ऋणीका जमिनमाथि अवैध कब्जा कायम गर्ने, जबर्जस्ती घरबारीबाट निकाल्ने, हिंसात्मक धम्की दिने तथा आक्रमण गर्ने र यौनशोषण गर्नेसहितका उत्पीडनका लागि गैरकानुनी ढंगले ऋण प्रवाह गर्ने साहुमहाजनहरूलाई नेपाली अधिकारीहरूले जवाफदेही बनाउनु पर्ने ह्युमन राइट्स वाचले बताएको छ । धेरै नेपाली नागरिकहरू मध्यपूर्व क्षेत्रमा आप्रवासी मजदुरका हैसियतमा काम गर्छन् । ती आप्रवासी मजदुरहरूले अत्यधिक भर्ती शुल्क तिर्नुपर्ने बाध्यता सामना गरिरहेको समयमा सुरु भएको मध्यपूर्वको द्वन्द्वले थप मानिसलाई गैरकानुनी ऋण दिने साहुमहाजनहरूबाट शोषणको जोखिमतर्फ धकेलिरहेको ह्युमन राइट्स वाचले बताएको छ ।
‘ऋणीहरूलाई संरक्षण दिने सरकारी प्रतिबद्धताका बाबजुद नेपालको अनौपचारिक ऋण प्रवाह क्षेत्रमा गैरकानुनी अभ्यास धेरै नै फैलिएको छ जसका कारण सबैभन्दा थोरै स्रोतसाधन भएका मानिसहरू नै उनीहरूको उठिबास गराउने सामर्थ्य राख्ने साहुमहाजनमाथि निर्भर रहन बाध्य छन्,’ ह्युमन राइट्स वाचकी एसिया सहनिर्देशक मीनाक्षी गांगुलीले बताएकी छिन् । ‘प्रधानमन्त्री बालेन्द्र शाहको सरकारले सरकारी प्रतिबद्धताहरूलाई कार्यान्वयन गर्दै जालसाजीपूर्ण तथा शोषणकारी ऋण प्रवाहविरुद्धका कानुनलाई प्रभावकारी ढंगले लागू गर्नुपर्छ ।’
ह्युमन राइट्स वाचले सबैभन्दा धेरै अनौपचारिक ऋण प्रवाह हुने तराई क्षेत्रका ६ जिल्लाका १८ ऋणी, स्थानीय सरकारका कर्मचारी, वकिलहरू तथा अभियन्ताहरूसँग अन्तर्वार्ता लिएको थियो । साथै नवलपरासी जिल्लामा ५० भन्दा बढी घटना तथा सरकारी प्रतिवेदनहरू अध्ययन गरेको थियो ।
अमेरिका, इजरायल तथा इरानबीचको द्वन्द्वका कारण सन् २०२६ मा विशेषगरि खाडी मुलुकमा रहेका नेपाली मजदुरहरूको आम्दानी घटेकाले तथा त्यहाँ जाने तयारी गरेका मजदुरहरूले रोजगार सुरु गर्नमा अनैच्छिक ढिलासुस्ती सामना गर्नुपरेकाले नेपालमा रहेका उनीहरूका परिवारहरू आफूले व्यवस्थापन गर्न नसक्ने ऋणभारले थिचिएका छन् । अनाधिकारिक व्यक्तिगत एजेन्टमाथि निर्भर हुनुपर्ने तथा अव्यवहारिक रूपमै अत्यधिक भर्ती शुल्क तिर्नुपर्ने जस्ता पहिलेदेखिनै भोग्दै आएका शोषणलाई युद्धजन्य समस्याहरूले झनै चर्को बनाइदिएका छन् । आफ्नालागि नेपालबाट मजदुर आपूर्ति गर्ने नेपाली कम्पनीहरूले आवश्यक खर्च तथा शुल्क दिन नमान्दा ती रकम मजदुरले नै तिर्नुपर्ने अवस्था आउँछ भन्ने राम्ररी बुझेका खाडी देशका कम्पनीहरूले नै यस्ता अवैध खर्च बढाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन् भन्ने तथ्य ह्युमन राइट्स वाचले यसअघि नै पहिल्याएको थियो ।
नेपालको अनौपचारिक लेनदेन अभ्यास अन्तर्गत ऋणीले हस्ताक्षर तथा ल्याप्चे लगाउने असुरक्षित व्यक्तिगत कपाली तमसुकमा ऋणीले पाएको रकमभन्दा तीनदेखि दस गुणासम्म बढी झुठा रकम लेखिने गरेको सरकारी अनुसन्धानले देखाएका छन् । मिटरब्याज भनिने यस्ता ऋणमा वार्षिक ३६ देखि ६० प्रतिशत वा त्यसभन्दा पनि बढीको चक्रिय दरमा ऋण दिइएको हुन्छ जबकि बैंकहरूले १० प्रतिशतभन्दा कम दरमा ऋण दिन्छन् ।
विप्रेषणमा निर्भर रहेका न्यून आयका परिवारहरूले आफ्ना सीमित स्रोतलाई खाद्यान्न, इन्धन तथा स्वास्थ्यसेवामाथि खर्च गर्नथालेकाले ऋण तिर्न मुस्किल हुँदै गएकाले निष्क्रिय कर्जाको संख्या ह्वात्तै बढेको छ । यस अवस्थामा केही साहुमहाजनहरूले हिंसाप्रयोगसहित मानिसहरूलाई घरबारीबाट जबर्जस्ती निकाल्ने, जमिनको स्वामित्व हस्तान्तरण गर्न बाध्य पार्ने जस्ता गतिविधि गर्न थालेका छन् र सबैभन्दा निकृष्ट घटनाहरूमा मानिसहरूलाई पुस्तैनी ऋणमा बँधुवा बनाउनेसम्म गरेका छन् । नेपाल सरकारका अधिकारीहरूले ऋणी र साहुलाई अदालती प्रक्रियामा जानुअघि सम्झौता गर्न प्रोत्साहन दिने र त्यसलाई सहजीकरण गरिदिनेभन्दा पर गएर कुनै प्रभावकारी दीर्घकालीन समाधान ल्याउने जमर्को गरिरहेका छैनन् ।
२०८२ फागुनमा फारसको खाडीमा द्वन्द्व सुरु भएयता नेपाल सरकारले आफ्ना नागरिकको सुरक्षाका लागि संस्थागत तथा व्यक्तिगत दुवै प्रकारका श्रम अनुमति निलम्बन गर्यो । यस अन्तर्गत हरेक दिन साउदी अरब, संयुक्त अरब इमिरेटस्, कतार तथा कुवेत जान तयार करिब २ हजार नेपालीको श्रम अनुमति निलम्बन गरिएको थियो । मान्यताप्राप्त मेडिकल प्रमाणपत्र, वैधानिक भिसा तथा बाध्यकारी रोजगार सम्झौता लिएर अन्तर्राष्ट्रिय हवाई अड्डा पुगेका हजारौँ मजदुरलाई यात्रा गर्नबाट रोकिएको थियो भने प्रशासनिक ढिलासुस्तीका कारण विदेशी संस्थाहरूले श्रम सम्झौता रद्द गरेका थिए । यद्यपि सरकारी अधिकारीहरूले रोजगारकालागि विदेश जान चर्को मिटरब्याजमा लिएको ऋणको ब्याज तिर्ने बाध्यता बोकिरहेका श्रमिकको संरक्षणका लागि कुनै पहलकदमी गरेनन्, जसका कारण ऋणीहरू साहुमहाजनका हातबाट हिंसा भोग्नुपर्ने सम्भावनामा पिल्सिइरहे ।
‘पैसा फिर्ता माग्न उनीहरूले मेरा बुवालाई पिटे मात्रै होइन मिटरब्याज तिर्न नसके कस्तो हविगत हुन्छ भन्ने गाउँका सबैले देखुन् भनेर दिउँसै बीचबाटोमा पिटे,’ एक पीडितले बताए । ‘स्थानीय गुण्डाले हामीलाई भने – “जग्गाको लालपूर्जा आजै राजिनामा नगरिदिने हो भने भोली तिम्रो परिवारले लाश बुझ्नु पर्ला !”’
द्वन्द्वसम्बन्धित समस्याका कारण हिंसात्मक आक्रमण तथा जबर्जस्ती निष्कासनजस्ता उत्पीडनका घटना अहिले मात्रै बढ्दै गएझैँ देखिए ता पनि ऋण दिने साहुमहाजनहरूले ऋणीहरूमाथि धेरै अघिदेखि राजनीतिक तथा आर्थिक प्रभुत्व जमाउँदै आएका छन् । न्याय प्रणालीले सधैँ साहुमहाजनको पक्षपोषण गरेको दाबी गर्दै ऋणीहरूले विगत चार वर्षमा काठमाडौँमा तीनपटक लामो विरोध प्रदर्शनीहरू गरेका छन् । यीमध्ये सबैभन्दा लामो विरोध प्रदर्शनी ४ सय ४२ दिनसम्मको थियो । यसका साथै देशमा लामा विरोध यात्रा पनि गरिएका छन् । ऋणबारे समस्या सुल्झ्याउन सरकार प्रत्येक पटक सहमत भए ता पनि पीडितलाई संरक्षण गर्ने आफ्नो प्रतिबद्धता भने कार्यान्वयन गर्न सकेको छैन । फलस्वरूप ऋणीहरूले नियमित रूपमा जिल्ला तथा प्रदेशस्तरमा समेत विरोध प्रदर्शन गर्दै आएका छन् ।
साहुमहाजनहरूले हस्ताक्षरसहितको ब्ल्यांक चेक तथा बैंकसम्बन्धि नियमकानुन प्रयोग गर्दै ऋण तिर्न नसक्ने ऋणीलाई गिरफ्तारीको धम्की दिँदा वा अनाधिकारिक तमसुकको भरमा जमिन कब्जा वा मानिसलाई घरबारीबाट जबर्जस्ती निकाल्दा पनि प्रहरीले साहुमहाजनहरूकै पक्ष लिने गर्छन् । ‘ऋण लिने समयमा साहुमहाजनले मलाई ब्ल्यांक चेकमा हस्ताक्षर गर्न लगाए र पछि १० लाखको अंक लेखेर चेक बाउन्स गराएपछि मलाई जेल हाल्ने धम्कीसहित प्रहरी पठाए,’ सिराहा जिल्लाका एक किसानले बताए ।
साहुमहाजनहरूले ऋणीको सम्पत्ति जफत गर्ने आदेश प्राप्त गर्नका निम्ति सम्भवत: गैरकानुनी प्रकारका तमसुक प्रयोग गर्दा पनि आधिकारिक निकायहरूले केही नगरेका घटनाबारे ऋणीहरूले बताउने गरेका छन् । साहुमहाजनबाट उत्पीडन भोगेपछि विरोध प्रदर्शनको नेतृत्व गर्दै आएका रौतहट जिल्लाको गौरनिवासी शिवशंकरले बताए, ‘साहुले मलाई हाक्काहाकी भने कि अदालत र प्रशासन उनकै हातमा छन् । राज्यले गरीब किसानहरूलाई यसरी अपेक्षा गरेपछि यो मिटरब्याजबाट बच्नका लागि लुक्ने यौटै मात्रै ठाउँ मृत्यु हो भन्ने लाग्दो रहेछ ।’
२०८० साल वैशाख २२ गते नेपाल सरकारले अनौपचारिक ऋणहरूलाई ‘अनुचित लेनदेन’ का रूपमा व्याख्या गर्दै अपराध ठहरायो । तमसुक किर्ते गर्नु, ऋणीलाई धम्क्याउनु, ऋणको रकम किर्ते जालसाजी गर्नुलाई सात वर्षसम्म जेल सजाय हुनसक्ने घोषणा गर्यो । तर यसको कार्यान्वयन फितलो रहेको छ । एक पछि अर्को सरकारले यस संकटलाई सम्बोधन गर्न सोधपुछ आयोग गठन गरेका भए ता पनि कानुनी प्रावधानका अभावमा तथा प्रशासनिक अवरोधका कारण त्यस्ता आयोगमा दर्ता भएका ६५ हजारभन्दा धेरै गुनासोलाई अहिलेसम्म सम्बोधन गरिएको छैन ।
यस्ता विफलताका कारण आत्महत्यासहितका प्राणघातक घटना हुने गरेका छन् । अन्तर्वार्ता गरिएका व्यक्तिहरूले बताएअनुसार आफूले लिएको ऋणको ब्याज तिर्न नसकेपछि साहुमहाजनले निरन्तर धम्की दिएकाले विराटनगरकी शान्तिदेवी महतोले असार ७ गते आत्महत्या गरेकी थिइन् । २०७२ साल असोजमा १ लाख ५० हजार ऋण लिएकी शान्तिदेवीले किस्ता किस्तागरि ४ लाख रुपैयाँ सावाँ र ब्याज फिर्ता गरिसकेकी थिइन् । तर उनीसँगको सम्झौता विपरित साहुले उनको जमिन कब्जा गरेर उनलाई घरबाट निकाल्ने धम्की दिनथालेका थिए ।
अन्तर्राष्ट्रिय मानवअधिकार कानुन तथा मान्यताका अनुसार साहुमहाजनजस्ता निजी कर्ताहरूले गर्ने गम्भीर अधिकार उल्लङ्घनबाट मानिसहरूलाई संरक्षण गर्न सुक्ष्म अनुसन्धान गर्ने तथा गम्भीर अपराधका लागि कारबाही गर्नेजस्ता आवश्यक कदम चाल्ने दायित्व सरकारको रहन्छ ।
मिटरब्याज पीडित ऋणीहरूले शोषणकारी ऋण प्रवाह अन्त्य गराउने मागसहित काठमाडौँलाई गन्तव्य बनाएर विरोध पदयात्रा सुरु गरेपछि प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले २०८३ साल साउन १ गते विरोध प्रदर्शनीका अगुवाहरूसँग ९ बुँदे सम्झौता गरेको थियो । आफ्ना प्रतिबद्धतालाई संस्थागत गराउन सरकारले तत्काल तुरुन्तै कानुनी तथा नीतिगत कदम चाल्नु आवश्यक भएको ह्युमन राइट्स वाचले बताएको छ । दातृ निकाय तथा अन्तर्राष्ट्रिय साझेदारहरूले ऋण मिनाहाका लागि संरचनागत प्रक्रिया निर्माण गर्न तथा ऋण पुनर्संरचनालाई टेवा दिन आवश्यक गुनासो संयन्त्र स्थापना गर्न नेपाल सरकारलाई सघाउनु पर्दछ ।
नेपाली आप्रवासी मजदुरहरू र शोषणकारी साहुमहाजन
नेपालको अनौपचारिक ऋण प्रणालीको जरो यस देशको सामन्तवादी इतिहासमा गडेको छ जस अन्तर्गत स्थानीय सम्भ्रान्त वर्गले किसानहरूलाई कमैया, हलिया तथा हरुवा चरुवाजस्ता पुस्तैनी बँधुवा मजदुरी प्रथामा फँसाउन शोषणकारी ऋणलाई प्रयोग गर्ने गर्थे ।
नेपालमा २०५३ देखि २०६३ सालसम्म चर्किएको एक दशक लामो गृहयुद्धका बेला श्रम आप्रवासन एक्कासी बढ्दा हाल नेपालमा देखिने मिटरब्याज प्रणाली मौलाएको हो । २०६४ सालपछि तराई क्षेत्रमा राजनीतिक अस्थिरता बढेसँगै मिटरब्याज प्रणाली पनि विकराल बन्दै गयो । करीब ७० लाख नेपाली नागरिकले देशबाहिर काम गरेर देशको कुल गार्हस्थ उत्पादनको एक तिहाइ अंश विप्रेषणका रूपमा देश भित्र्याउँछन् भन्ने अनुमान गरिन्छ । यी आप्रवासी मजदुरमध्ये आधाजसो भारतमा छन् भने बाँकी संख्याको ठूलो हिस्सा खाडी मुलुकमा छन् । धेरै घरपरिवारका लागि आप्रवासन नै जीविकोपार्जनका लागि उपलब्ध थोरै अवसरमध्ये एक बन्यो । तर यसैबेला सहज पहुँचयोग्य र सुलभ संस्थागत ऋणको अभावमा उनीहरू वैदेशिक रोजगारमा जानका लागि अनौपचारिक ऋणदातामाथि निर्भर हुनुपर्ने बाध्यता आइलाग्यो ।
ब्याजमा ऋण दिने केही स्थानीय साहुमहाजन तथा भ्रष्ट एजेण्टहरूले ग्रामीण भेगका युवायुवतीलाई विशेषगरि खाडीका मुलुक र मलेसियामा रोजगार दिलाउने शर्तमा अत्यधिक शुल्क माग्न थाले । ऋण लिनेहरूले जमिन वा अन्य सम्पत्तिलाई धितो राख्थे तर प्राय: जसोले त्यसबापत आफूले हस्ताक्षर गरेको तमसुक र त्यसमा लेखिएको रकम झुठो थियो र कागजात किर्ते थिए भन्ने पछि मात्रै थाहा पाउँथे । गैरकानुनी कागजातका अधारमा घरजग्गाको स्वामित्व हस्तान्तरण गरिदिने मालपोत कार्यालयहरूको प्रशासनिक सहभागिताबेगर असम्भव यस्ता प्रपञ्च तथा राज्यद्वारा संरक्षणको अभावका कारण ऋणीहरूले आफ्नो सम्पत्ति गुमाए ।
यस अध्ययनका लागि लिइएका अन्तर्वार्तामा ऋणपीडितहरूले बताए अनुसार आप्रवासी मजदुरजरूलाई यसरी फँसाइएको छ कि एकातिर उनीहरू शोषणकारी साहुमहाजनका लागि श्रम गर्ने दुष्चक्रमा बाँधिएका छन् भने अर्कातिर आधिकारिक निकायहरू यसमा हस्तक्षेप गर्नबाट चुकिरहेका छन् । नवलपरासी जिल्लाको सुस्ताका रामनाथ मुसहरले बताए अनुसार उनको परिवारले सन् २०१५ मा उनका दुई दाइलाई खाडी मुलुक पठाउन ऋण लिएको थियो । ऋणको ब्याज समयमै तिरिरहे पनि उनीहरूको ऋणको आकार अत्यन्तै ठुलो बनेको थियो –
मेरा दाइहरूले आफ्नो तलबबाट १२ लाख पठाए र थप १८ लाख तिर्न हामीले जग्गा बेच्यौँ । तर नक्कली तमसुक लिएर साहु जिल्ला अदालत गयो र हामीले उसलाई अझै ५० लाख तिर्न बाँकी रहेको दाबी गर्यो । अदालतले कागज र त्यसमा हाम्रो ल्याप्चे मात्रै देख्यो, उसले हाम्रो आँसु देखेन । प्रहरी आएर हाम्रो झिँटीगुण्टा माटोमा फ्यालिदियो । आफ्नै खेतबारीमा कृषि गर्ने किसानबाट हामी एकै रातमा भिखारी बनाइयौँ ।
अमेरिका, इजरायल तथा इरानबीचको द्वन्द्वले ऋणका जोखिमलाई झनै विकराल बनाएको छ
२०८२ साल फागुन १६ गते मा अमेरिका र इजराइलले इरानमा आक्रमण गरेपछि इरानले होर्मुज समुद्रीमार्ग हुँदै आवतजावत गर्ने जहाजमाथि आक्रमण गर्न तथा नाकाबन्दी लगाउन सुरु गर्यो र विभिन्न खाडी मुलुकका थुप्रै स्थानमा आक्रमण गर्यो । खाडी क्षेत्रमा जारी यस द्वन्द्वको असर भने धेरै टाढासम्म फैलिएको छ ।
नेपालस्थित संयुक्त राष्ट्र संघ निकायहरूले चेतावनी दिएका छन् कि, ‘बढ्दो इन्धन मूल्य, समुद्रीमार्गको नाकाबन्दी तथा बढ्दो आर्थिक अनिश्चितताले अर्थतन्त्र, श्रम बजार तथा जोखिमआसन्न घरपरिवारमाथि दबाब बढाइरहेका छन् ।’ विश्व बैंकका अनुसार घट्दो पर्यटन व्यवसाय, बढ्दो ढुवानी खर्च तथा आपूर्ति शृंखलामा व्यावधानका कारण नेपालको वास्तविक कुल गार्हस्थ उत्पादन सन् २०२४ को ३ दशमलव ६७ बाट घटेर सन् २०२६ मा २ दशमलव ३ मा सीमित हुनसक्छ । बढ्दो महँगी तथा कमजोर मुद्राका कारण आयात खर्च बढ्नाले, इन्धनको मूल्य एक्कासी बढ्नाले तथा रासायनिक मल आपूर्ति ठप्प हुनाले न्यून आयआर्जन गर्ने घरपरिवारमा थप दबाब सिर्जना भएको छ भने वैदेशिक रोजगारको माग पनि बढेको छ ।
आफ्नो घरपरिवार धान्न रोजगार पाउने आकांक्षा बोकेका धेरै ग्रामीण युवायुवतीहरूले शोषणकारी साहुमहाजनबाट ऋण लिएका छन् भने लगत्तै ती साहुमहाजनले ब्याज दर बढाएका छन् । धेरै परिवारहरू यस्ता ऋणको ब्याज तिरिरहन बाध्य छन् भने ऋण लिएका मजदुरहरू द्वन्द्वसम्बन्धित समस्याका कारण गन्तव्य देशतर्फ यात्रा गर्न नपाएर पर्खिरहेका छन् ।
खाडी मुलुकमा काम गरिरहेका मजदुरहरूले रोजगारीको अन्त्य, बेतलबी बिदा, ज्याला कटौती तथा अन्य समस्या सामना गरिरहेका छन् जसका कारण घरपरिवारलाई विप्रेषण रकम पठाइरहने उनीहरूको क्षमतामा ह्रास आएको छ । वैदेशिक रोजगार विभागको तथ्याङ्कका अनुसार २०८२ फागुनमा द्वन्द्व सुरुभएदेखि २०८३ भदौको अन्त्यसम्ममा खाडी मुलुकतर्फ जाने मजदुरहरूलाई दिइएको श्रम अनुमतिको संख्या गत वर्षको यसै समायावधिको दाँजोमा ५२ प्रतिशतले घटेको छ । पोहोर यस अवधिमा खाडी क्षेत्रका लागि २ लाख २८ हजार १६५ श्रम अनुमति जारी गरिएको थियो भने द्वन्द्व सुरु भएयताका ६ महिनामा १ लाख ९ हजार २४९ श्रम अनुमति मात्रै जारी गरिएको छ । द्वन्द्वका कारण कम्तीमा २ नेपाली श्रमिकको मृत्यु भएको छ भने १५ श्रमिक घाइते भएका छन् ।
धेरै मजदुरहरू अपेक्षित आम्दानी बेगरै नेपाल फर्कँदै छन् र आफूले लिएको ऋणको ब्याज तिर्न नसक्ने अवस्थामा छन् । ऋण दिने साहुमहाजनहरूले ऋणीमाथि दबाब बढाइरहँदा, उनीहरूलाई कुटपिट गरिरहँदा, घरबारबाट निष्कासन गरिरहँदा तथा जग्गाजमिन वा सम्पत्तिलाई जबर्जस्ती नामसारी गर्न बाध्य बनाइरहँदा आधिकारिक निकायहरूले उचित कारबाही गर्न सकिरहेका छैनन् । एकातिर साहुमहाजनहरूले गैरकानुनी तमसुकका आधारमा अदालतहरूबाट ऋणीको सम्पत्ति जफत गर्ने वा उनीहरूलाई गिरफ्तार गर्नेसम्मका आदेश माग गरिरहेका छन् भने ऋणीहरूले ती तमसुकमा ऋण रकम किर्ते गरिएको आरोप लगाइरहेका छन् । महोत्तरी जिल्लाका एक ऋणीका अनुसार, ‘कानुनले त मिटरब्याजलाई अपराध भनेको छ तर प्रहरीले मैले कहिल्यै पाउँदै नपाएको रसिद माग्छ । त्यसैले चोरहरू निर्बाध हिँडिरहेका छन् भने मलाई चाहिँ आफू अपराधी भए झैँ महसुस गराइँदै छ ।’
महिला घरमूली भएका परिवार, दलित तथा आदिवासी जनजाती समुदायहरूसँग जात, लिङ्ग तथा अन्य भेदभावमा आधारित कुटपिट तथा यौनशोषणसम्मका हिंसाविरुद्ध सुरक्षाका अझ थोरै उपाय उपलब्ध छन् । धनुषा जिल्लाकी एक महिलाले आफूलाई घरबारबाट निकालिदिने धम्की दिएर साहुले बलात्कार गरेको बताइन् ।
मेरा पति विदेशको श्रम क्याम्पमा फँसेका हुनाले पैसा पठाउन सकेका थिएनन् । तमसुक लिएर साहु मेरो घर आइपुगे र उनीसँग ‘कम्प्रमाइज’ नगर्ने हो भने भोलीपल्ट मेरा छोराछोरीलाई घरबाट निकालीदिने धम्की दिए । हाम्रो घरको छतलाई मेरो शिरमाथि हतियार झैँ झुण्डाए । मैले उनको उत्पीडन चुपचाप सहनु पर्यो किनभने यस गाउँमा यौटी गरिब महिलाले उसको जग्गाजमिनको लालपूर्जा लिएर बसेको शक्तिशाली पुरुषको विरोधमा केही बोल्न सक्दिन ।
साहुमहाजनद्वारा शोषण
द्वन्द्वले संकटलाई थप गहिरो बनाएको भएपनि नेपालमा र विशेषगरि तराइ क्षेत्रमा ऋणमा डुबेका परिवारको संख्या पहिलेदेखि नै अत्यन्तै व्यापक तथा विकराल भइसकेको थियो । आधिकारिक निकायहरू यस्ता परिवारलाई संरक्षण गर्ने आफ्नो दायित्वबाट विफल भएका छन् ।
आफूले अंशमा पाएको जमिनमाथि नियन्त्रण स्थापना गर्ने प्रयासमा नवलपरासी जिल्ला पलिहवाकी दलित विधवा चिराइ चमारले २० हजार रुपैयाँ ऋण लिएकी थिइन् । सोही जग्गाको एक टुक्रा पाए बापत कानुनी प्रक्रियामा सघाइदिने बाचा गर्दै एक साहु अघि सरे । ‘मैले बीस हजार रुपैयाँ ऋण लिएको साहु मेरो अंशको जग्गाबाट दुई कठ्ठा जग्गा पाए बाँकी जग्गालाई मेरो नाममा बनाउन चाहिने कानुनी प्रक्रियामा सहयोग गरिदिन्छु भन्दै मकहाँ आए,’ उनले भनिन् ।
त्यसपछि चमारलाई जम्मा १ लाख ५० हजारको अत्यन्तै न्यून मूल्य थपेर उक्त साहुले अरू ४ कठ्ठा हत्त्याए । अधिकारकर्मीहरूले चमारको जग्गा फिर्ता ल्याएर उनको जीविकोपार्जन जोगाउने प्रयासमा हस्तक्षेप गर्दा स्थानीय गुण्डाहरूले उनीहरूलाई धम्क्याए तथा चमारको बालीनाली नष्ट गरिदिए । प्रहरी तथा स्थानीय अधिकारीसमक्ष गुनासो गरिएपनि उनीहरूले सहयोग गर्न सकेनन् ।
ललितपुर ठेचोकी बासिन्दा आशामाया (नाम परिवर्तन गरिएको) ले आफ्नो परिवार धान्न सानो चियापसल चलाउँथिइन् । तर उनको ससुरा बिरामी भएपछि उनको स्याहारसुसार गर्न आशामायाले पसल बन्द गर्न पर्यो । उपचार खर्च बढ्दै गएकै बेला आम्दानी हुन छोडेपछि उनले एक साहुसँग ऋण लिइन् । ती साहुले मागेको १२० प्रतिशत ब्याज उनले तिर्न सकिनन् । ऋण तिर्ने दबाब थेग्नै नसकेपछि उनले पहिलो ऋण तिर्न उस्तै उच्च दरमा दोस्रो ऋण लिइन् ।
एक टुक्रा जमिन बेचेर दोस्रो ऋण तिरेकी आशामायाले तुरुन्तै आफ्ना पतिको स्वास्थ्य उपचारका लागि अर्को ऋण लिनुपर्ने भयो तर यसपाली उनीसँग धितो राख्न पुग्नेगरि जमिन भने थिएन । उनलाई ऋणदिने साहुले उनीले लिएकोभन्दा पाँच गुणा धेरै २५ लाख रुपैयाँको रकम लेखिएको तमसुकमा जबर्जस्ती हस्ताक्षर गर्न लगाएर उनलाई विभिन्न पुरुषहरूसँग यौन सम्पर्क गर्न बाध्य बनाए ।
समाधानको खोजी
ऋण पीडितहरू विभिन्न विचार तथा समूहअन्तर्गत संगठित हुन थालेका छन् र सरकारसँग शोषणकारी साहुमहाजनबाट संरक्षण माग गर्न थालेका छन् । २०७९ जेठमा सिराहा, धनुषा, महोत्तरी, सर्लाही, कपिलवस्तु तथा नवलपरासी जिल्लाका सयौँ मानिसहरू कैयौँ हप्ता खाली खुट्टा हिँडेर काठमाडौँमा विरोध प्रदर्शन गर्न आइपुगेपछि त्यस समय सत्तामा रहेको सरकारले २०७९ चैत २० गते गुनासो संकलन गर्न, संरचनागत समस्या अध्ययन गर्न तथा अनुचित लेनदेनसम्बन्धि विवाद समाधान गर्न तीन सदस्यीय अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग २०७९ गठन गर्यो ।
२०८० साल जेठ ७ गते जिल्ला प्रशासन कार्यालयहरूले गुनासो दर्ता गर्न बन्द गर्दासम्ममा ६७ जिल्लामा २८ हजारभन्दा धेरै गुनासो दर्ता भएका थिए जसमध्ये चिन्ताजनक संख्यामा २१ हजार ५५२ गुनासो मधेश प्रदेशमा केन्द्रित थिए । तर आयोगले जम्मा ५ हजार ११५ विवादलाई मात्रै सल्ट्यायो । थुप्रै पीडितले आफूलाई जिल्ला अदालतहरूले उत्पीडन गरेको बताए । ‘हामी न्यायको खोजीमा प्रमुख जिल्ला अधिकारीकहाँ गयौँ तर त्यसको साटो प्रहरी र साहुमहाजनहरू उल्टै हामीमाथि जाइलागे, अदालत गए हाम्रो जग्गा नै लिलामीमा पर्छ भन्दै धम्क्याए र उनीहरूले बढाइचढाइ गरेको रकमको आधा रकम तिर्ने कबोल गरेको कागजमा हस्ताक्षर गर्न जबर्जस्ती गरे,’ सिराहाकी एक महिलाले भनिन् ।
प्रहरीले हस्तक्षेप गर्न नसकेका हिंसात्मक झडप आदिसहितका गुनासो आउने क्रम नरोकिएपछि अधिकारीहरूले पीडितहरूसँग प्राय: साङ्केतिक सम्झौता गर्ने र त्यसपछि बारम्बार नयाँ आयोग गठन गर्नथाले । २०८० साल चैत १ गते उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्कीको नेतृत्वमा एक आयोग गठन गरियो भने त्यसको एक वर्षपछि २०८१ साल फागुन २६ गते बाबुराम रेग्मीको नेतृत्वमा अर्को आयोग गठन गरियो । २०८२ साल कार्तिक २७ गते रेग्मी आयोगले ४३ जिल्लामा जम्मा ४१ हजार ४०९ गुनासो दर्ता भएको बतायो । यीमध्ये ६ हजार ३९३ मुद्दा छिनोफानो भएका थिए भने ३५ हजार १६ मुद्दा थाँती रहेका थिए ।
एकपछि अर्को आयोगले संकटको विकराल आयतनलाई उजागर गरिदिएपनि शोषणकारी साहुमहाजनहरूको कस्सिलो पकडलाई तोड्न चाहिने राजनीतिक प्रतिबद्धता कतै देखिएन । नवलपरासी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकृत पोषणराज भण्डारीले ह्युमन राइट्स वाचलाई बताए, ‘यो समस्या समाधान गर्न मौजुदा कानुन पर्याप्त छैन – यसलाई सल्ट्याउन सरकारले छुट्टै कानुनी प्रक्रियाबारे सोच्नुपर्छ ।’
२०८२ साल फागुनमा भारी बहुमतसहित बालेन्द्र शाह नेतृत्वको सरकार निर्वाचित भएपछि पीडितहरूमाझ आशा पलाएको थियो । तर सरकारले सामूहिक ऋण मिनाहातर्फ काम गर्नुको सट्टा साहुमहाजनहरूले ऋणीका विरुद्ध अत्यन्तै ठुलो संख्यामा गिरफ्तारी वारेन्ट जारी गर्न प्रहरीलाई सहमत गराएको पीडितहरूले बताएका छन् ।
यसको प्रतिक्रियामा पीडितहरूले नयाँ विरोध प्रदर्शनी आयोजना गरेका छन् । विरोध अभियानका एक अगुवा निर्ग नवीनले पीडितहरूको ‘विगतको अनुभव’मा आधारित ‘तीन पुराना माग’ भएको बताए जसमा सम्पूर्ण गैरकानुनी सम्झौता तथा तिनमा आधारित तमसुकहरू खारेज हुनुपर्ने, यी कारबाहीलाई संस्थागत गर्न तथा विशेष कानुनी प्रक्रिया स्थापना गर्न एक नयाँ कानुन निर्माण हुनुपर्ने तथा पीडितका लागि न्याय सुनिश्चित गर्नका निम्ति छुट्टै विशेष निकाय निर्माण गरिनुपर्ने माग सामेल छन् ।
असार २५ गते मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालले जनकपुरबाट काठमाडौँसम्मको ११ दिने पैदल न्याय मार्च सुरु गर्यो । आन्दोलनको छैठौँ दिनमा आन्दोलनकारीसँग प्रत्यक्ष वार्ता गर्न गृहमन्त्री सुधन गुरुङ निजगढ पुगे । तीन दिनसम्मको वार्तापछि सरकारले तीनैवटा प्रमुख मागलाई स्वीकार्यो र अद्यावधिक गरिएको ९ बुँदे सहमतिमा हस्ताक्षर गर्यो जसपश्चात् आन्दोलनकारीहरूले विरोध मार्चलाई स्थगित गरे ।
पीडितहरू अझै प्रतीक्षा गर्दैछन् । तीमध्ये एक सोबितादेवी महतोले भनिन्, ‘यो समस्या समाधान भएन भने गृह मन्त्रालयमै पुगेर झुण्डिएर मर्नेबाहेक मसँग अरू कुनै उपाय छैन ।’
सुझाव
- ऋणीहरूलाई जथाभावी गिरफ्तार गर्ने क्रम बन्द गर्ने ।
- शोषणकारी साहुमहाजनले ऋणीविरुद्ध गरेका हिंसात्मक आक्रमण, यौनशोषण तथा धम्कीलगायतका अपराधका लागि कानुनी कारबाही गर्ने ।
- घरबारबाट जबर्जस्ती निष्कासन तथा जग्गा हडप्नेजस्ता अनुचित लेनदेनका अभ्यासका लागि दण्डसजाय लागू गर्ने ।
- जिल्ला प्रशासन तथा प्रहरीलाई गैरकानुनी ऋण सम्झौताका आधारमा सम्पत्ति जफत वा निष्कासन गराउनबाट रोक्ने ।
- अतिउच्च दरमा आर्थिक लेनदेन तथा गैरकानुनी ऋण सम्झौता अन्त्य गर्न नयाँ कानुन तर्जुमा गर्ने । विवादित अनौपचारिक ऋणमा आधारित सम्पूर्ण जग्गा नामसारीमाथि कानुनी रोक्का स्थापना गर्ने ।
- युद्ध आदि आफ्नो नियन्त्रणबाहिरका परिस्थितिका कारण अकस्मात रोजगारी गुमाएका आप्रवासी मजदुरका लागि ऋण राहतसहित सम्भव भएसम्मका सहयोग उपलब्ध गराउने ।
- ब्याज दरमा हदबन्दी तोक्नुपर्ने, ऋणका शर्तलाई ऋणीले पूर्णतामा तथा स्पष्ट रूपमा बुझेको हुनुपर्ने तथा ऋणीले ऋण तिर्न सक्छन् कि सक्दैनन् भन्नेबारे उचित आँकलन हुनुपर्ने आदि प्रावधानसहित ऋणीलाई संरक्षण गर्ने उद्देश्यसहित तर्जुमा गरिएका कानुन तथा नीति बनाउने र लागू गर्ने । हाल व्याप्त अनौपचारिक अनुचित लेनदेन प्रणालीलाई भंग गर्न आवश्यक नयाँ कानुन तथा नीति निर्माण गर्दा पीडित तथा अन्य सरोकारवालासँग विस्तृत छलफल गर्नुपर्ने ।
- न्यून आय भएका घरपरिवारका लागि सुलभ संस्थागत ऋणसम्म पहुँच विस्तार गर्ने तथा श्रमिक भर्ती प्रक्रियाको अनुगमनलाई सबलीकरण गर्ने ता कि वैदेशिक रोजगार वा अन्य अत्यावश्यक खर्चका लागि श्रमिकहरूले शोषणकारी अनौपचारिक साहुमहाजनमाथि निर्भर हुनु नपरोस् ।
- नेपालमा असल रोजगार तथा जीविकोपार्जनसम्म पहुँच विस्तार गर्ने तथा सामाजिक सुरक्षालाई सबलीकरण गर्ने ता कि घरपरिवारहरूले ऋण लिएर वैदेशिक रोजगारका लागि जान नपरोस् ।
- रोजगारदाताले नै भर्ती शुल्क तिर्ने सिद्धान्त अनुसार नेपाली आप्रवासी श्रमिक भर्ती गर्ने कम्पनीले नै वैदेशिक रोजगारसम्बन्धित खर्च र शुल्क तिरेका छन् भन्ने सुनिश्चित गर्नका निम्ति गन्तव्य देशका सरकारहरूसँग श्रम सम्झौताजस्ता द्विपक्षीय श्रम संयन्त्रहरू उपयोगमा ल्याउने । नेपालस्थित भर्ती कम्पनीहरूको उचित परिक्षण तथा प्रभावकारी अनुगमन गर्ने र श्रमिकहरूले शुल्क तिरेका अवस्थामा पुनर्भरणका लागि संयन्त्र स्थापना गर्ने ।