Skip to main content

नेपाल: जेन-जी आन्दोलनमा अवैध बलप्रयोग

दुइ दिनसम्म चलेको प्राणघातक हिंसामा सुरक्षा बलको भूमिकाबारे विश्वसनीय अनुसन्धान गर ।

नेपालको काठमाडौँमा संसद भवन परिसरबाहिर २०८२ भदौ २३ गते अश्रुग्यास प्रहार गर्दै दंगा प्रहरी । © 2025 Prabin Ranabhat/AFP via Getty Images
  • नेपालमा सुरक्षा बलहरूले २०८२ भदौ २३ गतेको युवा नेतृत्वका प्रदर्शनीविरुद्ध अत्याधिक बल प्रयोग गर्दै थुप्रै पटक प्रदर्शनकारीहरू माथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।
  • हिंसाको दोस्रो दिनमा जेन-जी प्रदर्शनसँग आबद्ध नरहेका भनिएका केही व्यक्तिसहित मानिसहरूले राज्यका मुख्य भवन तथा संरचनामाथि आगजनी गरेका थिए; राजनीतिक दलका नेता, पत्रकार तथा अन्य मानिसमाथि भौतिक आक्रमण गरेका थिए; र विद्यालय, व्यवसाय तथा संचारगृहहरूमाथि आक्रमण गरेका थिए ।
  • कानुन उल्लङ्घनमा संलग्न व्यक्तिहरूबारे अनुसन्धान तथा तिनलाई कारबाही सुनिश्चित गरेमा तथा पारदर्शी विधिमा काम गरेमा मात्रै त्यस अवधिका हिंसाका घटना अनुसन्धान गर्न बनेको नयाँ न्याय आयोगले सफल कार्यसम्पादन गर्न सक्नेछ ।

(न्यू योर्क) – नेपालमा सुरक्षा बलहरूले २०८२ भदौ २३ गतेको युवा नेतृत्वका प्रदर्शनीविरुद्ध अत्याधिक बल प्रयोग गरेको ह्युमन राइट्स वाचले आज बताएको छ । आन्दोलनका कारण तत्कालिन प्रधानमन्त्रीले पदबाट राजिनामा दिनुपरेपछि पूर्व प्रधान न्यायाधीश सुशिला कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारले अत्याधिक बलप्रयोगका घटनाका साथै त्यसको भोलिपल्ट भदौ २४ गतेका आगजनी तथा भीडद्वारा सामूहिक आक्रमणका घटनाका साथै कुनैपनि अवैध कार्यका लागि कसले आदेश दिएका हुनसक्छन् भन्नेबारे अनुसन्धान गर्नुपर्दछ ।

भदौ २३ गते काठमाडौँमा राजनीतिमा भ्रष्टाचार तथा चार दिन अघिदेखि लागू भएको व्यापक सामाजिक सञ्जाल बन्दविरुद्ध आयोजना भएको “जेन-जी” प्रदर्शनीका क्रममा प्रहरीले अत्याधिक बल प्रयोग गर्दै थुप्रै पटक प्रदर्शनकारीहरू माथि अन्धाधुन्ध गोली प्रहार गर्दै तीन घण्टाको अवधिमा काठमाडौँमा १७ जनाको ज्यान लिएका थिए भन्ने ह्युमन राइट्स वाचको अनुसन्धानले देखाएको छ । यसले भोलिपल्ट भदौ २४ मा हिंसाको दोस्रो लहर सुरु गरेको थियो जसमा जेन-जी प्रदर्शनसँग आबद्ध नरहेका भनिएका केही व्यक्तिसहित मानिसहरूले राज्यका मुख्य भवन तथा संरचनामाथि आगजनी गर्दा, राजनीतिक दलका नेता, पत्रकार तथा अन्य मानिसमाथि भौतिक आक्रमण हुँदा र विद्यालय, व्यवसाय तथा संचारगृहहरूमाथि आक्रमण हुँदा सुरक्षा बलहरूले प्रतिकार्य गर्न नसकेको देखिएको थियो ।

“नेपालमा हालै भएको हिंसामा मानवअधिकारको गम्भीर उल्लङ्घन भएका छन् तथा सुरक्षा बल वा राजनीतिक पात्रहरू जोसुकै भएपनि त्यसका लागि जिम्मेवार व्यक्तिहरूलाई जवाफदेही बनाइनु पर्छ,” ह्युमन राइट्स वाचकी एसिया सहनिर्देशक मीनाक्षी गांगुलीले भनिन् । “अनुसन्धान स्वतन्त्र रहनेछ, बेलैमा सम्पन्न हुनेछ र पारदर्शी हुनेछ तथा कानुन उल्लङ्घनका लागि जिम्मेवार कसैलाई पनि सही कारबाहीबाट अनुचित संरक्षण मिल्ने छैन भन्ने सरकारले सुनिश्चित गर्नुपर्छ ।”

कार्की सरकारले देशभरिमा कम्तिमा ७६ र काठमाडौँमा ३ प्रहरीसहित ४७ जनाको ज्यान गुमेको दुइ दिनसम्मको हिंसाको सिलसिलाबारे अनुसन्धान गर्ने जिम्मेवारीसहित एक न्यायिक छानबिन आयोग गठन गरेको छ । अपर्याप्त जीवनस्तर आदि भ्रष्टाचार तथा अधिकार सुनिश्चित गर्नमा राज्यको विफलताका कारण नै युवा प्रदर्शनी भएका थिए भन्ने कार्की सरकारले बुझ्नु पर्छ र ती कारणलाई सम्बोधन गर्नुपर्छ ह्युमन राइट्स वाचले भनेको छ । 

ह्युमन राइट्सले प्रत्यक्षदर्शी, पीडित, पत्रकार, चिकित्सा व्यवसायी, राजनीतिक दलका नेता तथा सुरक्षा बलनिकट स्रोत गरी ५२ जनासँग अन्तर्वार्ता गरेको थियो । सामाजिक सञ्जालमा पोस्ट गरिएका तथा अध्ययनकर्तासँग साझा गरिएका फोटो तथा भिडियोको सत्यता जाँचेको थियो । त्यस्तै प्रदर्शनी तथा आगजनी भएका स्थान अवलोकन गरेको थियो । अध्ययन काठमाडौँकेन्द्रित थियो ।

भदौ २३ गते अपराह्न १२:३० देखि ४ बजेका बीच संसद भवन वरिपरि जम्मा भएका युवावर्गलाई तितरबितर पार्न प्राणघातक बल प्रयोग गर्दै मानिसहरूको टाउको, छाती तथा पेटमा गोली प्रहार गरेको थियो । त्यस्तो प्राणघातक बल प्रयोग गर्नै पर्ने गरी गम्भीर तथा तत्काल संकट थियो भन्ने प्रत्यक्षदर्शीहरूको बयान र भिडियो फुटेजको अध्ययनले देखाउँदैन ।

सञ्चार मञ्च डिस्कोर्डसहित अन्य सामाजिक सञ्जालबाट विरोध प्रदर्शनीबारे सूचना पाएका सहभागीहरू बिहान ९ बजेदेखि भेला हुन थालेका थिए र बिहान ११ बजेसम्ममा ठुलो संख्याको जमात जम्मा भइसकेको थियो । प्रदर्शनकारीहरू संघीय संसदतर्फ अघि बढ्दा संसदतर्फ जाने सडकमा राखिएको एक्लो ब्यारिकेडलाई केही प्रदर्शनकारीले नाघेका थिए । उनीहरूलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास, पानीको फोहरा तथा लाठीचार्ज प्रयोग गरेको थियो । प्रदर्शनकारीहरू ठुलो संख्यामा संसदको मूलगेट अगाडी जम्मा भए । केहीले प्रहरीमाथि ढुङ्गाप्रहार गरे । अपराह्न १२:३० बजेतिर सरकारले त्यस क्षेत्रमा कर्फ्यु घोषणा गर्‍यो तर ह्युमन राइट्स वाचले अन्तर्वार्ता गरेका प्रदर्शनकारी तथा पत्रकारहरू त्यस्तो घोषणाबारे अनभिज्ञ थिए ।

एक बजेतिर “स्थिति साह्रै नै बिग्रियो,” गोली प्रहारको आवाज सुनेपछि अर्का सहकर्मीसँगै संसद भवन परिसरको पर्खालनजिकै ओत लिएका एक पत्रकारले बताए । “म र अर्का पत्रकारको बीचैबाट गोली सुइँकिएर गयो ।” अन्तर्वार्ता गरिएका कुनैपनि प्रत्यक्षदर्शीले प्रहरीले प्राणघातक बलप्रयोग गर्नु अघि कुनैपनि प्रकारको चेतावनी दिएको सुनेका थिएनन् ।

केही घण्टासम्मै फाट्टफुट्ट प्रहरीको गोली प्रहार चलिरह्यो । दिउँसो करिब १:४० बजेतिर २० वर्षीया विश्वविद्यालय विद्यार्थीलाई प्रहरीले काँधमा गोली प्रहार गर्‍यो । “मलाई गोली लाग्दा कुनै हिंसा भइरहेको थिएन,” ती विद्यार्थीले बताइन् । “सबै शान्तिपूर्ण नै थियो । उनीहरूले एक्कासी गोली प्रहर गर्न थाले ।” उनको शल्यचिकित्सकले उनको चोटबारे पुष्टि गरे ।

एक प्रदर्शनकारीले बताए अनुसार उनलाई अन्य ३३ व्यक्तिसँगै उनले विशेष सुरक्षा दल भन्ने बताएको प्रहरी टुकडीले भदौ २३ दिउँसो र बेलुकी संसद भवन परिसरमा हिरासतमा राखेको थियो । उनले बताए अनुसार उनीहरूलाई कुटपिट गरिएको थियो र धम्काइएको थियो । त्यसको भोलिपल्ट दिउँसोमात्रै उनीहरूलाई छोडिएको थियो ।

भदौ २४ गते सहरभरि प्रदर्शनकारीहरूले प्रहरी चौकीमाथि आक्रमण गरे, हतियार लुटपाट गरे तथा प्रहरीहरूलाई भाग्न बाध्य बनाए । भीडको आक्रमणमा ३ प्रहरी मारिएको प्रहरी अधिकारी तथा पोस्टमार्टममा संलग्न प्याथोलोजिस्टहरूले बताए । धेरै ठाउँमा जनताहरू स्वस्फूर्त रूपमा आगजनी तथा अन्य आक्रमणमा सहभागी भए ।

भीडहरूले राजनीतिक दलका नेतालाई निर्घात कुटपिट गरे तथा तिनका घरमा आगजनी गरे । तत्कालिन प्रधानमन्त्री तथा अन्य केहीलाई हेलिकप्टरमार्फत उद्धार गर्नु पर्‍यो । संघीय संसद भवन, राष्ट्रपति भवन, संघीय कार्यालयहरू तथा सर्वोच्च अदालतसहित मुख्य सरकारी भवन तथा संरचनामा आगजनी गरियो । विद्यालय, होटेल तथा निजी सम्पत्तिमाथि पनि आगो लगाइयो । कारागारहरूमाथि आक्रमण भएपछि हजारौँ कैदीबन्दीहरू भागे ।

भीडले छानीछानी आक्रमण गरेको आरोप लगाउँदै केही प्रत्यक्षदर्शीहरूले त्यस्ता भीडलाई रोक्न सुरक्षा बलहरूले किन थप प्रयास गरेनन् भन्ने प्रश्न उठाए । “अत्यन्तै लक्षित प्रकृतिका आक्रमण भएका थिए,” एक व्यपसायीले बताए र टिप्पणी गरे कि छेवैका व्यवसायलाई भने छोइएकोसम्म थिएन । भदौ २४ गते सहरभरि आगजनी फैलिइरहँदा सुरक्षा बलहरू प्राय: अनुपस्थित नै थिए र आक्रमणमा परेका धनजनको सुरक्षा गर्नबाट चुकेका थिए भन्ने थुप्रै साक्षीले बताए ।

ह्युमन राइट्स वाचले अन्तर्वार्ता गरेका वा सञ्चारमाध्यममा उद्धृत प्रत्यक्षदर्शी तथा विश्लेषकहरूले विभिन्न राजनीतिक आन्दोलनसँग आबद्ध व्यक्तिहरूले “घुसपैठ” गरेकाले हिंसा प्रभावित भएको हुनसक्ने शंका व्यक्त गरेका थिए । हिंसा भड्काउने कुनैपनि आपराधिक गतिविधिबारे विश्वसनीय आरोपहरूमाथि फौजदारी न्याय अधिकारीहरूले अनुसन्धान गर्नुपर्ने गर्नुपर्ने ह्युमन राइट्स वाचले बताएको छ ।

प्रधानमन्त्री केपी ओलीले भदौ २४ गते दिउँसो राजिनामा दिए । त्यसै साँझ शान्ति कायम गर्न आह्वान गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वक्तव्य जारी गरे । राती १० बजे सेना परिचालन होउञ्जेलसम्मै आगजनी जारी रह्यो । जेन-जी आन्दोलनका केही अगुवा तथा केही अन्य राजनीतिकर्मीलाई प्रधानसेनापति अशोक राज सिग्देलले वार्ताका लागि बोलाए । डिस्कर्ड मञ्चमा समर्थकहरूसँग छलफलपछि भदौ २७ गते जेन-जी प्रतिनिधिहरू प्रतिनिधिसभा विघटन गर्न तथा मध्यावधि निर्वाचन गराउने जनादेशसहितको अन्तरिम सरकारका प्रमुखको हैसियतमा कार्कीलाई प्रधानमन्त्रीको पदमा नियुक्त गर्न राष्ट्रपतिसँग सहमतिमा पुगे

दुइ दिनको अवधिमा ४७ शव प्राप्त गरेको काठमाडौँस्थित एक शवगृहका प्याथोलोजिस्टहरूले टाउको, घाँटी, छाती तथा पेटमा “उच्च गतिका गोलीको चोटबाट” ३५ जनाको मृत्यु भएको आफूहरूले निर्क्यौल गरेको ह्युमन राइट्स वाचलाई बताएका थिए । विभिन्न अस्पतालका कर्मचारीहरूले आफूकहाँ सयौँको संख्यामा घाइतेहरू आइपुगेको बताएका थिए ।

भदौ २३ गते एक अस्पताल परिसरमा प्रवेश गरेर प्रहरीले कर्मचारी तथा बिरामीमाथि लाठी चार्ज गर्दै एक कर्मचारीलाई घाइते बनाएको थियो । दुवै दिनमा प्रदर्शनकारीले एम्बुलेन्सहरूमाथि आक्रमण गरेका थिए । भदौ २३ गते प्रहरीको गोली प्रहारमा पत्रकार घाइते भएका थिए भने भदौ २४ गते प्रदर्शनकारीले सञ्चारगृहका परिसरहरूमा आक्रमण गरेका थिए ।

अवकाशप्राप्त एक प्रहरी अधिकारीका अनुसार प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्दा तथा प्राणघातक बल प्रयोग गर्दा आवश्यक विधि पालना गर्नबाट चुकेको थियो । संयुक्त राष्ट्र संघको बल तथा हातहतियार प्रयोगबारे आधारभूत सिद्धान्तले मृत्यु वा गम्भीर चोटपटकको आसन्न संकटका समयबाहेक हातहतियारको प्रयोगलाई निषेध गरेको छ । ज्यान जोगाउनका लागि अनिवार्य भएको परिस्थितिमा मात्रै जानाजानी हातहतियार प्रयोग गर्ने अनुमति हुन्छ । नेपालको कानुनअन्तर्गत परिस्थितिलाई नियन्त्रणमा लिनका लागि प्राणघातक बल प्रयोग गर्नै परेको अवस्थामा पनि चेतावनी दिनैपर्छ तथा हाताहत हुनबाट जोगाउन पर्छ ।

भदौ २३ र २४ का घटना अनुसन्धान गर्न गठन गरिएको आयोगले सुरक्षा बलहरूको भूमिका, घुसपैठका विश्वसनीय आरोप तथा हिंसा भड्काउने प्रकारका आपराधिक गतिविधिबारे अनुसन्धान गर्नुपर्ने ह्युमन राइट्स वाचले बताएको छ । २०८२ कार्तिक २४ गतेसम्ममा भदौ २४ मा भएको हिंसात्मक गतिविधिका लागि जिम्मेवार भएको आरोपमा ४ सय २३ जनालाई प्रहरीले पक्राउ गरेको थियो तर भदौ २३ गते प्रदर्शनकारीहरूमाथि अवैध रूपमा गोली प्रहार गरेका प्रहरी अधिकृतहरूमाथि कुनै कारबाही गरेको थाहा पाइएको थिएन ।

“विगतमा भएका मानवअधिकार उल्लङ्घनका लागि व्यापक दण्डहीनता रहेकैले नेपालमा यसपटक भएको हिंसालाई बल पुगेको हो भन्ने सम्बन्धित निकायहरूले बुझ्नुपर्छ,” गांगुलीले भनिन् । “नेपालमा अनुसन्धानका प्रतिवेदन दबाउने र कारबाहीमाथि तगारो ठड्याउने एक पछि अर्को सरकारको दशकौँ पुरानो प्रवृत्तिलाई उल्ट्याउनु र जवाफदेहिता स्थापना गर्नु तथा सुरक्षा क्षेत्रलाई सुधार गर्नु अत्यावश्यक छ ।”

२०८२ भदौको नेपाल हिंसा 

ह्युमन राइट्स वाचले यस अघिका विरोध प्रदर्शनीहरूमा सहित नेपालमा हुँदैआएका अन्य थुप्रै मानवअधिकार उल्लङ्घनका घटनाहरूमा जवाफदेहिता सुनिश्चित गर्नमा भएका विफलताहरूबारे धेरै अघिदेखि दस्तावेजीकरण गर्दै आएको छ ।

विशेषगरी युवावयका नेपालीहरूमाझ बढ्दो असन्तुष्टि पछि भएको सामाजिक सञ्जाल अभियानले राजनीतिक सम्भ्रान्त वर्गको विलासी जीवनशैली उदाङ्गो बनायो । यही असन्तुष्टि सामाजिक तथा आर्थिक असमानता, भ्रष्टाचार, राजनीतिक दलहरूबीचको खिचातानीका कारण सुशासनको अभाव तथा अधिकार दुरुपयोगका लागि जवाफदेहिता स्थापना गर्नमा विफलताबारे व्यापक क्रोधमा परिणत भयो ।

काठमाडौँमा भदौ २३ गतेको विरोध प्रदर्शनीको सुरुवाट शान्तिपूर्ण भएता पनि संघीय संसद भवन नजिकै प्रदर्शनकारीहरूले एक प्रहरी ब्यारिकेड नाघेसँगै अव्यवस्थित हुन पुग्यो । देशका अन्य स्थानमा पनि विरोध प्रदर्शनी भए । सुरक्षा बलहरूले प्राणघातक बल प्रयोग गर्दै काठमाडौँमा १७ जना तथा राजधानीबाहिर २ जनाको ज्यान लिए भने सयौँजना घाइते भए ।

भदौ २४ गते थुप्रै मानिसहरू ती हत्याको विरोधमा सडकमा उत्रिए । ती प्रदर्शनकारीमाझ केही व्यक्तिहरू तुरुन्तै राज्यका कार्यकारी, न्यायपालिका तथा विधायिकाका साथै अन्य संस्थाहरू, विद्यालयहरू, व्यवसायहरू तथा सञ्चारगृहका कार्यालयमाथि लक्षित भौतिक आक्रमण तथा आगजनीमा संलग्न भए । सुरक्षा बलहरूले सुरक्षा सुनिश्चित गर्न नसक्दा आगजनी गर्नेहरूले एक सुपरमार्केटमा आगो सल्काउँदा जलेर मृत्यु भएका ६ जनासहित दर्जनौँ मानिसहरू मारिए तथा घाइते भए ।

अनुसन्धानकर्ताहरूले सामाजिक सञ्जालमा पोस्ट गरिएका ५० वटा भिडियोको विश्लेषण गर्दै तिनको सत्यता जाँचेका थिए । ती भिडियोमा विभत्स दृश्यहरू सामेल भएकाले ह्युमन राइट्स वाचले ती अनलाइन भिडियोका लिंक यहाँ सामेल गरेको छैन तर प्रमाणका रूपमा ती भिडियोलाई सुरक्षित राखेको छ ।

भदौ २३ 

भदौ १९ मा प्रधानमन्त्री केपी ओलीले संघीय सरकारको मन्त्रीपरिषदले भदौ ९ गते जारी गरेको निर्देशन अनुसार दर्ता हुनबाट चुकेका २६ सामाजिक सञ्जाललाई नेपालमा बन्देज गर्ने घोषणा गरे । सरकारले कर तथा नियमन प्रयोजनका लागि उक्त बन्देज आवश्यक रहेको जिकिर गरेता पनि धेरै नेपालीहरूले त्यसलाई आलोचना दमन गर्ने प्रयत्नको रूपमा बुझेका थिए ।

भदौ २३ को विरोध प्रदर्शनीका आयोजकमध्ये एकले बताए अनुसार उक्त बन्देजले उनीहरूलाई “अत्यन्तै उद्वेलित बनाएको” थियो । उनले बताए अनुसार उक्त विरोध आन्दोलन जानाजानी नै “नेतृत्वविहीन” थियो । भदौ २० देखि भदौ २२ का बीच र विशेषगरी सञ्चार मञ्च डिस्कोर्डमा आन्दोलन एकढिक्का भएको थियो । विशेष विषयमा अनलाइन समुदाय बनाइने डिस्कोर्डमा बन्देजको विरोध गर्न बनेका सर्भरहरूमा छिट्टै दसौँ हजार सदस्य आबद्ध भए । नेपालमा बन्देज लागेका मञ्चमध्ये डिस्कोर्ड पनि एक थियो तर भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोगमार्फत डिस्कोर्डसम्म पहुँच बनाउन सम्भव नै रहेको थियो ।

सुरुवाती समयमै डिस्कोर्डमा आबद्ध भएका र आन्दोलनको नजिक रहेका एक व्यक्तिले बताए अनुसार, “भदौ २३ का लागि विरोध कार्यक्रम घोषणा भए लगत्तै सदस्यता ह्वात्तै बढ्यो ।” प्राय: सबै छलफलको मुख्य विषय शान्तिपूर्ण विरोध प्रदर्शनी रहेको भएता पनि यी व्यक्तिले बताए अनुसार डिस्कोर्डमा केही व्यक्तिहरूले हिंसाको पक्षमा बोलिरहेका थिए । “घुसपैठ हुनेछ भन्ने अवधारणा पहिलेदेखि नै थियो ।” विभिन्न राजनीतिक समूहका समर्थकहरूले नियतवश नै उच्छृंखलतातर्फ छलफललाई उक्साएका थिए भन्ने आफ्नो विश्वास रहेको थुप्रै सुसूचित विश्लेषकहरू तथा प्रत्यक्षदर्शीले बताएका थिए ।

भदौ ८ गते युवावयका हजारौँ प्रदर्शनकारीहरू संघीय संसद भवनको करीब दुइ किलोमिटर पश्चिममा रहेको माइतीघर मण्डलामा भेला हुन थाले । काठमाडौँमा हुने प्राय: विरोध प्रदर्शनीहरू यहीँबाटै सुरु हुन्छन् । प्रदर्शनीका लागि आयोजकहरूले अनुमति लिएका थिए र संसद भवनको करीब ४ सय मिटर पश्चिममा रहने प्रहरी ब्यारिकेडसम्म हिँड्ने योजना थियो ।

प्रदर्शनकारीहरूले सरकारलाई सामाजिक सञ्जालमाथिको बन्देज अन्त्य गर्न तथा सर्वव्यापी भ्रष्टाचार अन्त्य गर्न आह्वान गरे । सुरुवाती क्षणहरूमा “उमंगमय” वातावरण रहेको प्रत्यक्षदर्शीहरूले बताएका थिए । आयोजकमध्ये केहीले प्रहरीलाई फूल उपहार दिने योजना बनाएका थिए । धेरै प्रदर्शनकारीहरूले यस अघि विरोध प्रदर्शनीमा भाग लिएका थिएनन् भन्ने आफूलाई लागेको ती आयोजकले बताएका थिए । भीड बढ्दै गयो । एक पत्रकारले बताए अनुसार, “भीड झन् झन् ठुलो हुँदै थियो । यति धेरै मानिस थिए कि उकुसमुकुस लाग्थ्यो ।” बिहान करिब ११ बजेतिर जुलुस संसदतर्फ लाग्यो ।

एक आयोजकले बताए अनुसार प्रदर्शनकारीहरू ब्यारिकेड पुग्दा, “हामीले देख्यौँ कि भीडलाई नियन्त्रण गर्न आवश्यक संख्यामा प्रहरीको उपस्थिति थिएन ।” त्यस दिनको प्रहरी अपरेसनबारे जानकारी राख्ने एक प्रहरी अधिकारीका अनुसार प्रहरीले त्यस दिन जम्मा हुने मानिसहरूको संख्यालाई कम आँकेका थिए र पूर्वसूचना तथा तैयारी गर्न यसरी चुकेकै हुनाले त्यसपश्चातका घटना भएको हुनसक्छ । अवकाशप्राप्त एक वरिष्ठ प्रहरी अधिकारीले टिप्पणी गरेअनुसार प्राणघातक बल प्रयोगबिना नै प्रदर्शनीलाई व्यवस्थित गर्न सकिन्थ्यो । “मेरो बिचारमा त्यो ठुलो गल्ती थियो,” उनले बताए ।

सरकारको भ्रष्टचार तथा समाजिक सञ्जाल बन्देजको भर्त्सना गर्दै २०८२ भदौ २३ गते प्रदर्शनकारीहरू काठमाडौँमा संघीय संसदबाहिर भेला भएका थिए । © 2025 Prabin Ranabhat /Getty Images

नेपालको संघीय संसद परिसरले बानेश्वर चोक चौबाटोको यौटा कुना ओगटेको छ । प्रहरीले माइतिघरबाट संसदतर्फ जाने मुख्य बाटो बन्द गर्ने प्रयत्न गरिरहँदा बानेश्वर चोक जाने अन्य बाटाहरू खुल्लै थिए ।

ह्युमन राइट्स वाचले सत्यता पुष्टि गरेको ड्रोन फुटेजका अनुसार बिहान ११:३० बजेतिर भीडले प्रहरी ब्यारिकेड ढाल्यो । फुटेजमा प्रदर्शनकारीहरूको मुख्य भीड पश्चिमबाट ब्यारिकेडतर्फ आउँदै गरेको र पूर्वतर्फबाट आएको अर्को जमातले उनीहरूलाई ब्यारिकेड ढाल्न मद्दत गर्दै भीडलाई संसदतर्फ जान सघाएको देखाउँछ । अरू प्रदर्शनकारीहरू ब्यारिकेडका दुइ छेउ हुँदै अघि बढेका थिए भन्ने लाग्छ ।

पानी-तोप सवारीसाधनको आड लिँदै संसद परिसर गेट अगाडी पंक्तिबद्ध हुन प्रहरी पछाडी हट्दै गर्दा सयौँको संख्यामा प्रदर्शनकारीहरू संसद भवनतर्फ दौडिए । पानी-तोप सवारीसाधनले प्रदर्शनकारीमाथि लगातार पानीको फोहरा फ्याल्दै पछाडी हटिरहेको र फोहराले हिर्काएका प्रदर्शनकारीहरू ढलिरहेको ड्रोन फुटेजमा देखिन्छ । प्रहरीले अश्रुग्यास तथा अन्य प्रक्षेपण वस्तु प्रदर्शनकारीमाथि हिर्काएको प्रत्यक्षदर्शीहरूले बताएका थिए ।

२०८२ भदौ २३ गते काठमाडौँमा नेपालको संघीय संसदतर्फको बाटोमा राखिएको प्रहरी ब्यारिकेड ढाल्दै गरेका प्रदर्शनकारीहरू । © 2025 Sunil Pradhan/Anadolu via Getty Images

घटनास्थलमा रहेका एक प्रहरी अधिकारीले बताए अनुसार जिल्ला प्रशासन कार्यालयले करिब १२:३० बजेतिर उक्त क्षेत्रमा आपतकालीन कर्फ्यु घोषणा गरेको ५ मिनेट पछि प्रहरी अधिकारीले प्राणघातक बलसहित गोली प्रहार गरेका थिए । संसद परिसरको मुख्य गेट अगाडी नै नेपाल प्रहरी तथा अर्धसैन्य दस्ता सशस्त्र प्रहरी बलले प्रदर्शनकारीमाथि गोली प्रहार गरेको एक भिडियोलाई ह्युमन राइट्स वाचले विश्लेषण गरेको थियो । अर्को भिडियोमा संसद परिसरभित्र पर्खालबाट ४० मिटर टाढा रहेका अधिकारीहरूले प्रदर्शनकारीहरूको दिशामा सैनिक राइफलहरूले गोली प्रहार गरिरहेको देखिन्छ ।

ब्यारिकेड तोडेर अघि बढेका र पछि खुट्टामा गोली लागेका एक प्रदर्शनकारीले बताए, “हामी संसद अगाडी हुँदा उनीहरूले धातुको गोली प्रहार गरे । हाम्रा केही साथीहरूले ढुंगा हानेको हुनसक्छ । तर हाम्रा साथीहरूले ढुंगा हान्दा उनीहरूले गोली हाने ।” उनको अनुमानमा पहिलोपटक गोली चल्न थाल्दा प्रदर्शनकारीहरू र प्रहरीबीच ७ मिटर जतिमात्रै दुरी थियो ।

गोली लागेर दुइ जनाको मृत्यु भएको सुनेपछि साथीहरूसहित प्रहरीलाई संयम अपनाउन अनुरोध गर्न गएको एक २० वर्षिया युवतीले बताइन् । “हामी कुनै हिंसाका लागि त्यहाँ गएका थिएनौँ,” उनले भनिन् । त्यसको लगत्तै १:४० बजेतिर उनले घर जाने निर्णय गरिन् । संसद परिसरबाट सडकको पारीपट्टी करिब ४५ मिटर टाढा संसद भवनको उल्टोतर्फ फर्किएको अवस्थामा उनको काँधमा गोली लागेको थियो ।

आफू करिब १:३० बजेतिर बानेश्वर चोक आइपुगेर दुइ घण्टाजति त्यहीँ रहेको अर्का प्रदर्शनकारीले बताए । उनले अन्य प्रदर्शनकारीहरूले घाइतेहरूलाई अस्पतालतर्फ लैजाँदै गरेको देखेका थिए । प्रहरी अधिकारीहरूले संसद परिसरको मुख्य गेट अगाडी सडकका पोजिसनहरूबाट गोली प्रहर र संसद परिसरको गेट र पर्खालबीचको स्थानबाट अश्रुग्यास प्रहर गरिरहेको आफूले देखेको बताएका थिए । “म चोकमा भएको दुइ घण्टामा मानिसहरूलाई हात र खुट्टामा गोली लागिरहेको थियो,” उनले भने ।

कुनै स्पष्ट खतरा बोकेको नदेखिने एक प्रदर्शनकारीलाई संसद परिसरको दक्षिणपश्चिम कुना नजिकको सडकमा गोली हानिएको दृश्यलाई यौटा भिडियोले समेटेको छ । घटनापश्चात् १७ वर्ष उमेरका श्रीयम चौलागाईं भनेर पहिचान गरिएका र स्कुल युनिफर्म पहिरिएका एक बालक टाउकोमाथि हावामा ताली पिट्दै संसद भवनबाट अर्कातिर हिँड्दै गरेका देखिन्छन् । बन्दुक पड्किएको आवाज गुञ्जिञ्छ । बालकको टाउको एक्कासी अघितिर झुक्छ र बालक त्यहीँ लड्छन् । भिडियोमा रहेका छायाले दिउँसो करिब २ बजे उनलाई गोली लागेको देखाउँछन् । त्यसलगत्तैको अर्को भिडियोमा प्रदर्शनकारीहरूले बालकको शरीरलाई बोकेर अर्कातिर लाग्दै गरेको र उनको टाउको पछाडीबाट बगिरहेको रगत थाम्ने कोसिस गरिरहेको देखिन्छ । उनी बाँचेनन् ।

निजामती सेवा अस्पतालले भदौ २४ को विरोध प्रदर्शनीका २२१ घाइतेलाई उपचार गरेको त्यहाँका एक वरिष्ठ अधिकारीले बताए । ३ जनाको अस्पतालमै मृत्यु भयो । राष्ट्रिय ट्रमा सेन्टरका कर्मचारीका अनुसार उनीहरूकहाँ आएका घाइतेमध्ये ८ जना कि त मृत अवस्थामा आइपुगेका थिए वा सेन्टरमा आएपश्चात् प्राण त्यागेका थिए र थप ७३ जना घाइते थिए । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा त्यस दिन ३० जना पीडित आइपुगेका थिए जसमध्ये धेरैजसोलाई गोली वा प्रक्षेपित वस्तुहरूबाट चोटपटक लागेको थियो । अन्य अस्पतालहरूले पनि पीडितहरूको उपचार गरेका थिए ।

एक प्रत्यक्षदर्शीले बताए अनुसार दिउँसो ३ बजेदेखि ३:३० बजेका बीच उनी र अन्य एक पुरुषले प्रदर्शनकारीहरूको ठुलो जमातलाई प्रहरीलाई सडकमा पछि धकेल्दै संसद भवनतर्फ लैजान हौसाए । संसद भवन परिसरमा पुगेपछि प्रहरी गेटभित्र गए । “त्यहाँ हामी सबै हात माथि उठाएर उभिएका थियौँ, प्रहरीहरूसँग कुरा गर्ने कोसिस गर्दै थियौँ,’ ती प्रत्यक्षदर्शीले बताए । “‘हामीलाई गोली प्रहार नगर्नुस्, शान्त भएर सल्लाह गरौँ,’ भन्दै थियौँ । त्यसको ३ मिनेट जति पछि अरू केटाहरू (गेट नजिकै पार्किङ् गरेर राखेको) आर्मी ट्रकमाथि चढेर गेट हल्लाउन थाले । शायद त्यसले प्रहरीहरूलाई तर्सायो होला ।”

प्रहरीले फायरिङ् सुरु गर्दा उनी प्रहरीबाट ३ मिटर जति दुरीमा थिए र बीचमा गेट थियो । ती प्रहरी अधिकारीलाई तिनका पोशाकबाट उनले सशस्त्र प्रहरी तथा नेपाल प्रहरी विशेष कार्यदलका व्यक्ति भन्ने पहिचान गरेका थिए । “उनीहरूले हामीलाई ताकेरै गोली प्रहार गर्न थाले,” प्रत्यक्षदर्शीले बताए ।

खुट्टामा गोली लागेका अर्का पुरुषसँगै आफू ब्यारिकेड पछाडी लुक्ने प्रयास गरेको उक्त प्रत्यक्षदर्शीले बताए । गोली लागेर दुइपटक फलामे ब्यारिकेड बजेको सुने । फेसबुकमा अपलोड भएको र अनुसन्धानकर्ताहरूले पुष्टि गरेको एक भिडियोमा प्रदर्शनकारीहरू संसद परिसरको प्रवेशबाट १२ मिटर जति पर ब्यारिकेड र एम्बुलेन्स पछाडी आड लिएर बसिरहेको अवस्थामा प्रहरीले गोली प्रहार गरेको दृश्य कैद भएको छ । दुइ राउण्ड गोली चलेको आवाज सुनिन्छ । एक प्रदर्शनकारी भुइँमा लड्छन् । पछि दिपेन्द्र बस्नेत भनेर पहिचान गरिएका अर्का प्रदर्शनकारी ब्यारिकेडमाथि लत्रिन्छन्, उनको टाउकोबाट भलभल रगत बगिरहेको देखिन्छ । बस्नेत बाँचे ।

सुरक्षा बलहरूले कम्तिमा ३४ जनालाई पक्रिए, संसद भवन परिसरभित्र हिरासतमा राखे र राति १० बजेतिर एक प्रहरी चौकीमा सारे । ब्यारिकेड पछाडी लुकेका प्रदर्शनकारीले बताए अनुसार केही बेरमा दंगा कवच लगाएका विशेष कार्यदल अधिकारीहरू गेटबाहिर आएर उनलाई पक्रिए र संसद भवन परिसरभित्र लागे । प्रहरी अधिकारीहरूले लाठीले कुटेर ढाड र काँधमा निलडाम बनाइदिएको उनले बताए । अन्य प्रहरी अधिकारीहरूले पक्राउ परेका व्यक्तिहरूको फोन ध्वस्त पार्दै र पहिचान खुल्ने काग्जान नष्ट गर्दैगर्दा एक प्रहरी अधिकारीले पक्राउ परेकाहरूलाई गोली प्रहार गर्ने धम्की दिएको उनले बताए । प्रदर्शनकारीहरूलाई भोलिपल्ट दिउँसो हिरासतबाट छोडिएको थियो ।

भदौ २३ गते साँझ खेदप्रकट गर्दै गृहमन्त्रीले राजिनामा दिए तथा सामाजिक सञ्जालमाथिको बन्देज पनि हटाइयो ।

भदौ २४ 

बिहान थुप्रै जेन जी प्रदर्शनकारीहरू संसद भवन फर्किए । प्रहरीले अश्रुग्यास तथा प्राणघातक बल प्रयोग गरेता पनि प्रदर्शनकारीहरू संसद भवन परिसर छिर्न र संसद भवन ओगट्न सफल भए । जेन जी अन्दोलनकी एक सहभागीले आफू दिउँसो १:३० बजे संसद भवन छिरेको तर प्रधानमन्त्रीले राजिनामा दिए भन्ने सुनेपछि आफू त्यहाँबाट हिँडेको बताइन् ।

त्यसपछि अपरिचित व्यक्तिहरूले संसद भवनमा आगजनी गरे ।

ह्युमन राइट्स वाचले दस्तावेजीकरण गरेको भदौ २४ का आगजनीका घटनामा केही जनआक्रोशका स्वतस्फूर्त अभिव्यक्ति थिए भने अन्यमा हिंसाको सुनियोजित तथा लक्षित प्रयोग थियो भन्ने संकेत पाइन्छ । भदौ २३ का जमातमा आधिकांश सहभागी युवा प्रदर्शनकारी थिए भन्ने भदौ २४ को हिंसा तथा आगजनीमा अरू मानिसहरू पनि संलग्न थिए भन्नेमा यस अध्ययनका लागि अन्तर्वार्ता गरिएका प्रत्यक्षदर्शी तथा विश्लेषकहरूले सहमत थिए ।

भदौ २४ गते बिहान १२:२० बजे थुप्रै मोबाइल फोन प्रयोगकर्ताहरूलाई एक अटोमेटिक एसएमएस सन्देश आयो । उक्त अकाउन्ट सन्देश पठाउने म्याग्दी जिल्लाको एक स्थानीय सरकारद्वारा सञ्चालित थियो जसले पछि आफ्नो अकाउन्ट “ह्याक” भएको दाबी गरेको थियो । ह्युमन राइट्स वाचले पढेको यस सन्देशमा भनिएको थियो, “निर्दोष बालबालिकाहरूको रगत बगाउने नेताहरूको रगतले मात्रै नेपालमा शान्ति ल्याउन सक्छ ।” ह्युमन राइट्स वाचसँग वार्तालाप गरेका प्रत्यक्षदर्शीहरूले तथा केही समाचारले पनि सामाजिक सञ्जाल तथा डिस्कोर्डमा घर तथा व्यवसाय तोकेरै आक्रमण गर्न मानिसहरूलाई उक्साइएको र निर्देशित गरिएको बताएका थिए ।

त्यस दिन मानिसहरूले सहरका प्राय: सबै प्रहरी चौकीमाथि आक्रमण गरेर ध्वस्त बनाए र हातहतियार लुटे । प्याथोलोजिस्टहरूले ह्युमन राइट्स वाचलाई बताए अनुसार भीडले ३ प्रहरी अधिकारीहरूलाई पिटीपिटी हत्या गर्‍यो । एक प्रहरी स्रोतले बताए अनुसार उपत्यकाको दक्षिणतिर पर्ने हरिसिद्धिको प्रहरी चौकीमा सबैभन्दा पहिले आक्रमण भएको थियो । फेसबुकमा बिहान ११:३४ पोस्ट गरिएको र अध्ययनकर्ताहरूले जियोलोकेट (अर्थात् सटिक भौगोलिक विवरण निर्क्यौल) गरेको एक फोटोमा उक्त प्रहरी चौकी धुँवाले ढाकेको छ ।

केही स्थानलाई आक्रमणका लागि पहिले नै चुनिएको थियो भन्ने स्पष्ट बुझ्न सकिने प्रत्यक्षदर्शीहरूले बताए । हरिसिद्धिको एक हाउजिङ् कम्प्लेक्समा बसोबास गर्ने एक प्रत्यक्षदर्शीका अनुसार त्यहाँ बसोबास नगर्ने मानिसहरूको ठुलो समूह जबर्जस्ती एक हाउजिङ् कम्प्लेक्समा घुस्यो, सीसीटिभी क्यामेरा बन्द गर्‍यो र एक राज्यमन्त्री भाडामा बस्ने घरमाथि आक्रमण गर्‍यो । “ती राज्यमन्त्री त्यस घरमा बस्छन् भन्ने उनीहरूले कसरी थाहा पाए भन्ने हामीले बुझ्नै सकेनौँ किनभने हामीलाई पनि त्यो जानकारी थिएन,” उनले भनिन् ।

करिब ११ बजे एक भीडले ललितपुरको दक्षिणमा पर्ने खुमलटारमा अवस्थित युलेन्स स्कुलमाथि आक्रमण गर्‍यो । धेरै नेपालीहरूले यो निजी विद्यालयमा तत्कालिन परराष्ट्रमन्त्री आरजु राणा देउवाको आबद्धता छ भन्ने विश्वास गर्छन् । बिहान ११:०६ बजे फेसबुकमा पोस्ट गरिएको तथा जियोलोकेट गरिएको एक भिडियोमा स्कुलबाट धुँवाका बाक्ला मुस्ला आइरहेको देखिन्छ । एक कर्मचारीले बताए अनुसार आक्रमणपछि स्कुल “पुरै जल्यो, ध्वस्त भयो ।” फेसबुक तथा टिकटकमा पोस्ट गरिएका भिडियोका टाइमस्ट्याम्प र जियोलोकेसनले देखाए अनुसार युलेन्सद्वारा काठमाडौँको उत्तरतर्फ बाँसबारीमा सञ्चालित अर्को विद्यालयमा मध्याह्न १२:३० बजे आक्रमण भयो । त्यसपछिका केही घण्टाभरिमा पोस्ट गरिएका भिडियोले आगोले जलाएर ध्वस्त भएका स्कुल बस र अन्य विध्वंस देखाउँछन् ।

दिउँसो १:३० देखि २ बजेका बीच लाठी, खुकुरी र मट्टीतेल बोकेका १० देखि १५ जना पुरुषको समूहले प्रमुख निजी समाचार च्यानल कान्तिपुर टेलिभिजनको मुख्य कार्यालयमा आक्रमण गरेको उक्त च्यानलका कर्मचारीले बताए । प्रदर्शनकारीले ४ कर्मचारीमाथि हातपात गरे । आक्रमणकारीहरूले स्टुडियोबाहिर पर्किङमा राखिएका सवारीसाधनमा आगजनी गर्दै यौटा बलिरहेको स्कुटरलाई भित्र धकेलिदिए जसले निम्त्याएको विनाशका कारण उक्त च्यानलले ७० घण्टासम्म प्रसारण सुचारु गर्न सकेन । कान्तिपुर समूहका दुइ दैनिक पत्रिकाका कार्यालय अन्यत्रै स्थान रहेको थियो र करिब अपराह्न १२:३० बजे खाली गराइएका थिए । कर्मचारीले बताए अनुसार उक्त भवनमा दिउँसो ३:३० र ४ बजेका बीच भीडले आगजनी गरेको थियो । अर्को पत्रिका अन्नपूर्ण पोष्टको कार्यलयमा पनि आगजनी गरिएको थियो 

दिउँसो नै भीडहरूले सर्वोच्च अदालत तथा प्रधानमन्त्रीको कार्यलय तथा अन्य सरकारी विभागहरू रहेको सिंहदरबारमाथि आक्रमण गर्‍यो । एक प्रत्यक्षदर्शीका अनुसार “अत्यन्तै आक्रामक” समूहसहितको भीड १२:१० देखि १ बजेका बीच उक्त क्षेत्रमा आउन थालेको थियो ।

थुप्रै प्रत्यक्षदर्शीले बताए अनुसार दिउँसो २ बजेतिर सर्वोच्च अदालतबाहिर विभिन्न समूहहरू भेला हुन थाले । अदालतभित्र रहेका एक वकिलले बताए अनुसार उनले २ बजे र २:३० बजेबीच केही मानिसहरू अदालत भवनभित्र प्रवेश गरेर दराजहरूबाट ठुलो संख्यामा फाइलहरू झिक्दै पार्किङ क्षेत्रमा जलाएका थिए । त्यसको केही बेरमै सर्वोच्च अदालत भवनमा आगजनी गरिएको थियो । नजिकै रहेको महान्याधिवक्ताको कार्यालयमाथि पनि आक्रमण भयो त्यहाँ रहेका अभिलेख नाश गरिए भन्ने रिपोर्ट आएका थिए ।

सिंहदरबारको गेटबाहिर बन्दुक बोकेका १० देखि १५ पुरुषको समूहलाई एक फोटोजर्नलिस्टले रेकर्ड गरेका थिए । उनलाई फोटो नखिच्न आदेश दिने एक व्यक्तिले हातपात गरेका थिए । त्यसपछि हतियारधारी उक्त समूह सिंहदरबार परिसर प्रवेश गरेको थियो ।

सिंहदरबारका आगजनीकर्तामध्ये खुकुरी र फलामे रड बोकेका “बाइकर ग्याङ” का मानिसहरू सामेल भएको थुप्रै प्रत्यक्षदर्शीहरूले बताएका थिए । यी पुरुषहरूले आफ्ना मोटरसाइकलबाट इन्धन निकालेर आगो-बम बनाएको र मुख्य भवनमा आगजनी गर्न प्रयोग गरेको आफूले देखेको एक प्रत्यक्षदर्शीले बताएका थिए ।

व्यवसायीहरूका थुप्रै व्यवसाय तथा निजी आवासमा आक्रमण भएको थियो जब कि छेवैमा रहेका र उस्तै प्रकारका व्यवसायलाई छोइएकोसम्म थिएन ।

दिउँसो ४:२५ सम्ममा शितल निवासस्थित राष्ट्रपति भवन जलिरहेको थियो । त्यस आक्रमणमा सहभागी भएका तथा जलिरहेको भवनमा दुर्घटनावश घाइते भएका एक व्यक्तिका अनुसार गेटमा सानो संख्यामा तैनाथ सैनिकहरूले उनीहरूलाई राष्ट्रपति भवन प्रवेश गर्नबाट रोक्न सकेका थिएनन् । यिनै व्यक्ति त्यसभन्दा केहीबेर अघि बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आगजनी गर्न गएको समूहमा पनि सामेल थिए । उनले बताए अनुसार बालुवाटारमा तैनाथ प्रहरीले “हामी तपाईंहरूमाथि गोलीप्रहार गर्ने छैनौँ ।” त्यसको १० वा १५ मिनेटपछि प्रहरीले गेट खोलेर उनीहरूलाई प्रवेश दिएका थिए ।

शिक्षण अस्पतालका कर्मचारीले आफूकहाँ सबैभन्दा धेरै घाइते दोस्रो दिनको दिउँसो आइपुगेको बताए जसमा महाराजगञ्जमा प्रहरीहरूलाई कुटपिट गरेर हत्या गरिएको घटनास्थलबाट साँझ करिब ५ बजे गोलीबाट प्राण नलिने प्रकारका चोटपटक सामेल थिए । त्यसपछि धुवाँले निस्सासिएका बिरामी आएका थिए । निजामती कर्मचारी अस्पतालमा कार्यरत एक डाक्टरका अनुसार भदौ २४ गते अस्पतालमा २२० घाइते आइपुगेका थिए जसमा संसद भवनलाई प्रदर्शनकारीहरूले आक्रमण गरेर ध्वस्त पार्नु अघि गोली प्रहार गरि मारिएका ३ जना पनि सामेल थिए ।

GIVING TUESDAY MATCH EXTENDED:

Did you miss Giving Tuesday? Our special 3X match has been EXTENDED through Friday at midnight. Your gift will now go three times further to help HRW investigate violations, expose what's happening on the ground and push for change.
Region / Country