Skip to main content

विवाह दर्ता गर्न जाँदा नेपाली समलिङ्गी महिला जोडीमाथि दुर्व्यवहार

प्रहरीले सुरक्षा दिनुपर्छ, अदालतको आदेशलाई मान्नुपर्छ

The Supreme Court of Nepal in Kathmandu.  © Supreme Court of Nepal

दुई वर्ष सँगै बिताएपछि रमिता र शिलु (परिचय गोप्य राख्नका लागि नाम परिवर्तन गरिएको) यसै महिना आफ्नो विवाह दर्ता गर्नका लागि सिन्धुली गए । उनीहरू सर्वोच्च अदालतको जुन २०२३ को फैसलाबमोजिम समलिङ्गी विवाह दर्ता गर्न चाहन्थे । तर उनीहरूको विवाहले मान्यता पाउनुको सट्टा यस जोडीले उत्पीडन, विलम्ब, इन्कारको सामना गर्नु परेको र उनीहरूलाई जबर्जस्ती अलग गरिएको भन्ने खबर प्राप्त भयो । साथै, प्रहरीको संलग्नता र परिवारको विरोधले उनीहरूको दुखद अनुभवलाई झन् चर्कायो ।

स्थानीय अधिकारीहरूले कानुनी प्रक्रिया अनिश्चित भएको भन्दै विवाह दर्ता प्रक्रिया रोकेपछि रमिताको परिवारले उनी “हराएको” जानकारी दियो । रमिताले आफूलाई परिवारसँग असुरक्षित महसुस भएको र शिलुसँग विवाह गर्न चाहेको बताए पनि प्रहरीले उनलाई तिनै आफन्तको जिम्मा लगायो जसलाई उनले दुर्व्यवहारकारी भनेकी थिइन् । दुवै महिलाका अनुसार प्रहरीले उनीहरूको सम्बन्धको खिल्ली उडायो र उनीहरूमाथि मौखिक दुर्व्यवहार गर्‍यो । एक जना प्रहरी अधिकृतले उनीहरूको सम्बन्धको वैधतामाथि प्रश्न उठाउँदै अपमानजनक टिप्पणी गरेको जनाइएको छ । सर्वोच्च अदालतको सन् २०२३ को अन्तरिम आदेशले समलिङ्गी विवाह गर्ने र तेस्रोलिङ्गी विवाह गर्ने जोडीहरूले निवेदन माग गरेमा विवाहको अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गरिदिन आवश्यक व्यवस्था गरिदिन नेपाल सरकारलाई आदेश दिएको थियो । तेस्रोलिङ्गी व्यक्तिहरूलाई एक दशकभन्दा लामो समयदेखि स्वअनुभूतिका आधारमा सैद्धान्तिक रूपमा मान्यता दिँदै आइएको छ । वैवाहिक समानताको मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा यस आदेशको उद्देश्य क्वयेर जोडीहरूलाई अन्तरिम कानुनी मान्यता दिनु रहेको थियो । तर अधिकारीहरूले यस आदेशलाई लागू गर्ने कार्यमा एकरूपता अपनाएका छैनन् । सन् २०२३ यता केही समलिङ्गी जोडीले सफलतापूर्वक आफ्नो विवाह दर्ता गराएका छन् । यसका अतिरिक्त दुई समलिङ्गी जोडीहरू, जसमा एक जना नेपाली र अर्का विदेशी थिए, उनीहरू वैवाहिक

नातासम्बन्धी भिसा प्राप्त गर्न सक्षम भए । तर यसका लागि दुबै जोडीले आफ्नो मुद्दा सर्वोच्च अदालतमा पुर्‍याउनुपरेको थियो ।

रमिता र शिलुको अनुभवले पनि एउटा व्यापक ढाँचालाई प्रतिबिम्बित गर्दछ : समलिङ्गी महिलाहरूले अक्सर दबाबको सामना गर्छन् । यस्तो दबाब बारम्बार उनीहरूको परिवारबाट आउने गर्छ । उनीहरूलाई "अनिवार्य विषमलैङ्गिकता" अपनाउन बाध्य बनाइन्छ । समाजले पनि के अपेक्षा गरेको हुन्छ भने महिलाले पुरुषसँग नै सम्बन्ध गाँस्नुपर्छ । घरकाले आफूलाई धामीझाँक्रीकहाँ पठाइदिने हुन् कि भन्ने डर लागेको रमिताले बताएकी छिन् । "तिमी मरे नै पनि वा अशक्त नै बने पनि म तिमीलाई लोग्नेमान्छेसँग विवाह नगराई छोड्दिनँ," उनकी भाउजूले उनलाई यस्तो भनेको पाइयो । शिलु डर र शोकमा बाँचेकी छिन् । उनले रमितालाई सम्पर्क गर्न सकेकी छैनन् । विवाह दर्ता गर्ने प्रयास गरेदेखि नै रमितालाई "बन्धक जस्तो अवस्था" मा राखिएको उनले बताएकी छिन् । अधिकारकर्मीहरूले यस घटनाबाट मानवअधिकारको गम्भीर उल्लङ्घन भएको भन्दै यसको निन्दा गरेका छन् । साथै उनीहरूले तत्काल सुरक्षा प्रदान गरिनुपर्ने र स्थानीय अधिकारीहरूको आचरणमाथि छानबिन हुनुपर्ने माग गरेका छन् ।

नेपालमा विवाह गर्न चाहने समलिङ्गी जोडीलाई त्यस्तो विवाह गर्ने कानुनी हक छ । तर अन्तरिम आदेशअन्तर्गतको लम्बिँदो अवधि र अधिकारीहरूको कामकारबाहीप्रतिको जवाफदेहिताको अभावका कारण विश्वव्यापी एलजीबीटी अधिकारको क्षेत्रमा अगुवाका रूपमा प्रतिष्ठा कमाएको नेपालको साखमा आँच पुगिरहेको छ ।

GIVING TUESDAY MATCH EXTENDED:

Did you miss Giving Tuesday? Our special 3X match has been EXTENDED through Friday at midnight. Your gift will now go three times further to help HRW investigate violations, expose what's happening on the ground and push for change.
Region / Country
Topic