अहिले १७ वर्ष पुगेकी अञ्जना एम. दुई वर्षकी आफ्नी छोरी इशितासित आफ्नो घर बाहिर। उनको श्रीमानसित मायापिरती बसेको हल्ला चलेपछि काकाकाकीका करले १४ वर्षमै उनको विवाह भयो। सात वर्षकी हुँदा उनलाई उनका बाबुले कसैका घरमा काम गर्न पोखरामा पठाएका थिए।

अप्रिल ११, २०१६

©२०१६ स्मिता शर्मा, ह्युमन राइट्स वाचका लागि

(काठमाडौँ) बालविवाहलाई अन्त्य गर्नका लागि पर्याप्त कदम नचालेरको नेपाल सरकारले देशभरिका धेरै किशोर किशोरीहरूलाई गम्भीर हानि पुर्‍याइरहेको छ, आज प्रकाशित एउटा रिपोर्टमा ह्युमन राइटस् वाचले भनेको छ। नेपाल सरकारले जुलाई २०१४ मा २०२० सम्ममा बालविवाह अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो। २०१६ सम्ममा उक्त लक्ष्य सरेर २०३० मा पुग्यो। तर सरकारले यी मध्ये कुनै लक्ष्य हासिल गर्नका लागि आवश्यक कदमहरू चाल्न बाँकी नै छ।

"हाम्रो नाच्ने गाउने बेलाः नेपालमा बाल विवाह" शीर्षक 118 पृष्ठको उक्त रिपोर्टमा बालविवाहतर्फ धकेल्ने आर्थिक र सामाजिक दवावहरू तथा तिनका घातक परिणामहरूको अभिलेख छ। नेपालमा बालविवाहको दर एसियामै तेस्रो उच्च छ। कानून अनुसार महिला र पुरुष दुवैका लागि विवाहको न्यूनतम उमेर २० वर्ष भए तापनि ३७ प्रतिशत नेपाली किशोरीहरूको विवाह १८ वर्ष नपुग्दै हुन्छ र १० प्रतिशतको १५ वर्ष नपुग्दै। करीब ११ प्रतिशत किशोरहरूको विवाह १८ वर्ष नपुग्दै हुन्छ। यो अभ्यास रोक्नका लागि नेपाल सरकारले केही प्रयत्न गरेको छ तर लामो समयदेखिका प्रतिबद्धताहरू पूरा गर्न भने ढिलाइ भइरहेको छ।

"नेपालका धेरै बालबालिका बालविवाहका कारण आफ्नो भविष्य आफ्ना हातबाट खोसिएको टुलुटुलु हेरिरहेका छन्। यसमा बालक र बालिका दुवै पर्छन्," ह्युमन राइटस् वाचका वरिष्ठ महिला अधिकार अनुसन्धाता हेदर बार भन्नुहुन्छ। "नेपालको सरकारले सुधारका लागि प्रतिबद्धता त व्यक्त गरेको छ तर देशभरिका गाउँघर र शहरबजारमा केही पनि फेरिएको छैन।"

ह्युमन राइटस् वाचले १०४ जना विवाहित बालबालिका र उमेर पुग्नु अगावै विवाह गरेका नवयुवा लगायत मुलुकभरबाट १४९ जना व्यक्तिहरूसित अन्तर्वार्ता गर्‍यो। अन्तर्वार्ता गरिएका व्यक्तिहरू विभिन्न जातीय र धार्मिक पृष्ठभूमिका भए तापनि सीमान्तकृत समुदायहरू र तल्लो भनिएका जातहरूमा बालविवाहको व्यापकता बढी भएकाले उनीहरूमध्ये अधिकांश नेपालका दलित र आदिवासी समुदायका थिए। ह्युमन राइटस् वाचले क्रियाशील व्यक्तिहरू, सेवा प्रदायक, स्वास्थ्य कार्यकर्ता, शिक्षक, प्रहरी र विशेषज्ञहरूसित पनि अन्तर्वार्ता गरेको थियो।

"हाम्रो नाच्ने गाउने बेला" बाल विवाह

जात र लिङ्गमा आधारित भेदभावको दोहोरो मारका कारण नेपालमा दलित, थारू र अन्य जनजाति समुदायका महिला र केटीहरू विशेषतः अप्ठ्यारो अवस्थामा छन्। जात, लिङ्ग र गरीबीका कारण हुने विविध किसिमका भेदभावहरूका कारण उनीहरू बलात्कार र यौन शोषण लगायतका शारीरिक दुर्व्यवहार र अन्य अपराधका शिकार हुनपुग्छन्, जसमा प्रायः सजाय पनि हुँदैन।

नेपालमा बालविवाह सन् १९६३ देखि नै अवैध छ तर ह्युमन राइटस् वाचको जानकारीमा आए अनुसार बालविवाहको रोकथामका लागि प्रहरीले बिरलै मात्र हस्तक्षेप गर्छ वा कारवाही चलाउँछ र उजुरी नपरेको अवस्थामा त्यति पनि गर्दैन । बालविवाह अपराध हो तापनि सरकारका स्थानीय अधिकारीहरूले प्रायः उमेर नपुगेका व्यक्तिको पनि विवाह दर्ता गरिदिन्छन्।

गरीबी, कमी, बाल श्रम, सामाजिक दवाब, र दाइजोको प्रचलन आदि बालविवाहका कारणहरू रहेको ह्युमन राइटस् वाचको जानकारीमा आयो। अनुसन्धाताहरूले १२-१३ वर्षदेखिका बालबालिकादेखि स्वेच्छाले गरिने "लभ म्यारिज" खतरनाकरूपमा बढिरहेको भेटे, र त्यस्तो उमेरमा बिहे गर्ने कतिपय केटाकेटीले घरमा भएको अभाव वा दुर्व्यवहारबाट उम्किन, मन नपरेको मान्छेसित गराइन लागेको मागी विवाहबाट फुत्किन, गर्भनिरोधका साधनहरूका बारेमा जानकारी वा पहुँच नभएर वा समाजको दवाब सहन नसकेर विवाह गर्ने गरेको कुरा बुझे। बालविवाहका कारण बालबालिका र उनीहरूका परिवारमा हुने हानिमा शिक्षाको अवसरबाट विमुख हुनु, कलिलैमा हुने गर्भधारणका कारण गम्भीर स्वास्थ्य समस्या वा मृत्यु समेत हुनु तथा हिंसा, यौन हिंसा र घरबाट निकालिनेसम्मका दुर्व्यवहारहरू छन्।

कानून लागु गर्नमा सरकारको असफलताको कारण गरीब परिवारहरूका लागि बालविवाह राहतको उपाय बनेको छ। आफ्ना सन्तानलाई राम्रोसित खानलाउन दिन नसक्ने परिवारका बाबुआमाले राम्रोसित खानलाउन पाओस् भनेर पनि छोरीका लागि केटो खोज्न सक्छन्। शिक्षा "निशुल्क" भए पनि परिवारले अरू खर्च बेहोर्न नसकेका कारण, वा सरकारले विद्यालय अनिवार्य नबनाएको हुनाले गरीब परिवारका बालिकाहरू प्रायः स्कूल जान छाडेर काममा लाग्छन्। विद्यालय छाड्नुको प्रत्यक्ष परिणामस्वरूप धेरै बालिकाहरूको विवाह हुन्छ।

धेरै समुदायहरूमा रहेको केटीहरूको विवाह पहिलोपटक रजस्वला हुनेबित्तिकै वा अझ रजस्वला हुनु अगावै गरिदिनु पर्छ भन्ने धारणा लगायतका सामाजिक दवाबहरूका कारण बालविवाहले स्वीकृति पाएको मात्र होइन, कतिपय समुदायहरूमा यो प्रचलन सामान्य नै भएको छ। यौन तथा प्रजनन स्वास्थ्य वा गर्भ निरोधका साधनहरूका बारेमा जानकारीको अभावका कारण हुने विवाह अघिको गर्भधारण वा त्यसको डरले पनि बालबालिकालाई विवाहतर्फ धकेल्छ।

विवाहित किशोरीहरू प्रायः चाँडै नै गर्भवती हुन्छन् र उनीहरूबाट अपेक्षा पनि त्यही गरिन्छ। चाँडै र चाँडचाँडै गर्भधारण गर्दा उनीहरूको स्वास्थ्यमा गम्भीर असरहरू पर्छन्। सानो उमेरमा गर्भवती भएका आमाहरूका शिशुहरूको मृत्युका घटना बढी पाइन्छन्। अन्तर्वार्ता गरिएका धेरै किशोरीहरूले आफू हिंसा वा यौन हिंसाको शिकार भएको बताए।

"मेरो मागी विवाह भएको थियो, त्यसमा मेरो विचारलाई कुनै ठाउँ थिएन। बच्चा पाउने हुँदा पनि मेरो विचारको कुनै ठाँउ थिएन," नूतन सी. भन्छिन्। उनको विवाह १६ वर्षमा भएको थियो। चार वर्षकी छोरी र साढे एक वर्षको छोराकी यी आमा अन्तर्वार्ता गरिँदा छ महिनाकी गर्भवती थिइन्।

जुलाई २०१४ मा बेलायतको लण्डनमा आयोजित अन्तर्राष्ट्रिय "बालिका सम्मेलन" मा नेपालका महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीले २०२० सम्ममा बालविवाह अन्त्य गर्नका लागि प्रयत्न गर्ने प्रतिबद्धता व्यक्ति गर्नु भएको थियो। २०१६ को मार्चमा नेपालले आफ्नै आयोजित "बालिका सम्मेलन" आयोजना गरुञ्जेलसम्ममा उक्त लक्ष्य सरेर २०३० मा पुग्यो, जुन दिगो विकासको विश्वव्यापी लक्ष्य हासिल गर्ने अन्तिम मिति हो।

सरकारले बालविवाह अन्त्य गर्नका लागि राष्ट्रिय रणनीति तयार गर्न संयुक्त राष्ट्रसंघ तथा गैरसरकारी संस्थाहरूसित मिलेर काम गरिरहेको छ। यो रणनीति बालविवाह अन्त्य गर्ने विस्तृत राष्ट्रिय कार्ययोजनाको कार्यान्वनका लागि आवश्यक कोष सहितको जग बन्नेछ भन्ने अपेक्षा गरिएको छ। तर उक्त कार्ययोजनाको थालनी गर्ने काममा भने ढिलाइ भएको छ र उक्त रणनीतिले २०३० सम्ममा बालविवाह अन्त्य गर्नका लागि मार्गचित्रका लागि पर्याप्त सामग्री उपलब्ध गराउँदैन।

गाउँ तहमा बालविवाहलाई अन्त्य गर्न वा विवाहित बालबालिकाले बेहोरेको क्षतिलाई कम गराउनका लागि सरकारबाट कुनै प्रयत्न भएको कुनै पनि सङ्केत देखिँदैन। जनचेतना अभिवृद्धिका केही कामहरू प्रायः गैरसरकारी संस्थाहरूबाट भएका छन्। विद्यालयमा विशेषतः छात्राहरूको उपस्थिति प्रायः कम हुन्छ र त्यो अनिवार्य पनि हुँदैन। विद्यालयले दिनु पर्ने यौन र प्रजनन शिक्षा धेरैजसो किशोरकिशोरीले पाएका हुँदैनन्। सरकारी स्वास्थ्य निकायहरूले निःशुल्क परिवार नियोजन सेवा उपलब्ध गराउँछन् तर धेरै विवाहित वा अविवाहित किशोरकिशोरीहरूलाई त्यसबारेमा थाहा नै हुँदैन अथवा दूरी, बदनामीको डर वा पारिवारिक दवाबका कारण उनीहरूलाई त्यस्ता सेवा लिनमा कठिनाइ हुन्छ।

"हामीले एकदमै धेरै किशोरीहरूसँग अन्तर्वार्ता गर्‍यौँ जोआफ्ना बच्चाहरूको मृत्युको शोक मनाइरहेका थिए," बार भन्नुहुन्छ। "उनीहरूका कथा सुन्नै नसकिने खालका थिए र प्रायः ती सबै जोगिन सकिने किसिमका थिए। नेपालबाट बालविवाह अन्त्य गर्नका लागि कानूनहरूमा परिमार्जन गर्नुपर्छ, त्यहाँको प्रहरी र स्थानीय सरकारको व्यवहार तथा जन्म र विवाह दर्ताको व्यवस्था, विद्यालय र स्वास्थ्य सेवामा सुधार हुनुपर्छ। सरकारले परिवर्तनका लागि प्रतिबद्धता व्यक्त गरेको छ र त्यसको थालनी अहिले नै हुनुपर्छ।"